
विराटनगर,२६ साउन: सुनसरीको भोक्राहा, महेन्द्र राजमार्गअन्तर्गत बलुवा चौकमा आज बिहान बस र माइक्रोबस एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी उपरीक्षक सुमन तिमसिनाका अनुसार बिहान करिब ७:३० बजे भएको दुर्घटनामा माइक्रोबसमा सवार २० जनामध्ये दुई जनाले घटनास्थलमै ज्यान गुमाएका हुन्। गम्भीर घाइते दुई जनाको अवस्था चिन्ताजनक रहेको र बाँकी १६ जना सामान्य घाइते भएको उनले बताए।
मृतकको परिचय खुलाउने कार्य भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेको माइक्रोबस प्रदेश २-०१-००१ ज ००७ राजविराजबाट विराटनगरतर्फ आउँदै थियो भने ठोक्किने बस मे १ ख १७९९ पूर्वबाट पश्चिमतर्फ जाँदै थियो।
दुर्घटनापछि घाइतेहरूलाई तत्कालै नजिकैको अस्पतालमा उपचारका लागि पठाइएको छ। घटनास्थलमै पुगेको प्रहरी टोलीले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।