बिर्तामोड, २४ जेठ :हास्य, प्रेरणा र सकारात्मक सोचको माध्यमबाट जीवनप्रति उत्साह र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले आयोजित ‘Laughter for Life – The Motivation Session with Sandeep Chhetri कार्यक्रममा नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल र काठमाडौं मेडिकल कलेज ले संयुक्त रूपमा स्वास्थ्य सेवा डेक्स संचालन गरेका छन् ।
मकालु मिडिया नेटवर्क प्रा. लि. को आयोजनामा मिति २०८३ जेठ २१ गते बिर्तामोडस्थित साई पार्टी प्यालेस तथा मिति २०८३ जेठ २२ गते इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा उक्त कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा सहभागी सर्वसाधारणलाई स्वास्थ्यसम्बन्धी परामर्श, रोगको रोकथाम, स्वस्थ जीवनशैली अपनाउने उपाय तथा नियमित स्वास्थ्य परीक्षणको महत्वबारे जानकारी प्रदान गरिएको थियो
दुवै अस्पतालका स्वास्थ्यकर्मी तथा प्रतिनिधिहरूको सक्रिय सहभागितामा सञ्चालन गरिएको स्वास्थ्य सेवा डेस्कमा कार्यक्रमका सहभागीहरूले विभिन्न स्वास्थ्यसम्बन्धी जिज्ञासाहरू राख्नुका साथै आवश्यक परामर्श प्राप्त गरेका थिए। मनोरञ्जन र प्रेरणामूलक प्रस्तुतिसँगै स्वास्थ्य सचेतनाको सन्देश प्रवाह गर्न कार्यक्रम प्रभावकारी बनेको सहभागीहरूले बताएका छन्। स्वास्थ्य सेवा डेस्कमा कार्यक्रमका सहभागीहरूको सामान्य स्वास्थ्य परीक्षण समेत गरिएको थियो ।

सामुदायिक स्वास्थ्य प्रवर्द्धन तथा जनचेतना अभिवृद्धिलाई आफ्नो सामाजिक उत्तरदायित्वको महत्वपूर्ण पक्षका रूपमा लिँदै नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल र काठमाडौं मेडिकल कलेजले यस्ता जनमुखी तथा सामाजिक कार्यक्रमहरूमा निरन्तर सहकार्य गर्दै आएका छन्।
मनोरञ्जन, प्रेरणा र स्वास्थ्य सचेतनाको प्रभावकारी संयोजन बनेको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, युवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। स्वस्थ, सचेत र सकारात्मक समाज निर्माणका लागि यस्ता कार्यक्रमहरू प्रभावकारी माध्यम बन्न सक्ने विश्वास आयोजक तथा सहभागीहरूले व्यक्त गरेका छन्।




