२०८३ श्रावण ८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ८ साउन : नोबेल मेडिकल कलेज शिक्षण अस्पताल, विराटनगरमा अत्याधुनिक बर्न (Burn Unit) सेवाको औपचारिक शुभारम्भ गरिएको छ।

कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बूले वरिष्ठ प्लास्टिक तथा पुनर्निर्माण शल्यचिकित्सक प्रा. डा. शंकरमान राई लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा बिहीबार उक्त सेवाको उद्घाटन गर्नुभएको हो।

अस्पतालका अनुसार बर्न युनिट सञ्चालनमा आएपछि आगलागी, तातो पदार्थ, रसायन तथा विद्युतीय दुर्घटनाबाट जलेका बिरामीहरूले उपचारका लागि अन्य शहर धाउनुपर्ने बाध्यता उल्लेखनीय रूपमा कम हुनेछ। अब विराटनगरमै विशेषज्ञ चिकित्सक, आधुनिक उपकरण तथा दक्ष स्वास्थ्यकर्मीमार्फत गुणस्तरीय र प्रभावकारी बर्न उपचार सेवा उपलब्ध हुने अस्पतालले जनाएको छ।

बर्न युनिटमा गम्भीर जलन भएका बिरामीहरूको प्रारम्भिक उपचार, शल्यक्रिया, घाउ व्यवस्थापन, संक्रमण नियन्त्रण तथा पुनःस्थापनासम्बन्धी सेवा एकै स्थानबाट प्रदान गरिने व्यवस्था मिलाइएको अस्पतालले जानकारी दिएको छ।

उद्घाटन समारोहमा स्वास्थ्य मन्त्री लिम्बूले प्रदेशमै आधुनिक स्वास्थ्य सेवाको विस्तार हुनु सकारात्मक उपलब्धि भएको उल्लेख गर्दै यस्ता विशिष्टीकृत सेवाले बिरामीलाई सहज, छिटो र गुणस्तरीय उपचार प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले अत्याधुनिक स्वास्थ्य सेवा विस्तार गर्दै बिरामीलाई समयमै, सुरक्षित र प्रभावकारी उपचार उपलब्ध गराउने आफ्नो प्रतिबद्धतालाई आगामी दिनमा पनि निरन्तर सुदृढ बनाउँदै लैजाने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!