म्याग्दी, १९ माघ । धौलागिरि गाउँपालिका ५ मल्कबाङका हिमबहादुर छन्त्याललाई शहरबजारको सुखसयल र आनन्दको जीवन बिताउन नपुग्ने छैन । ४५ वर्षीय छन्त्याल सँग २२ वर्ष मलेशियामा गरेको रोजगारीको आम्दानी र पोखरामा सुविधा सम्पन्न घर छ । पोखरातिरै केही व्यवसाय गरेर वस्न सक्ने उनीसँग प्राविधिक ज्ञान पनि नभएको होइन । तर यो सबै छाडेर छन्त्याल तीनवर्षदेखि जंगलमा व्यवसायिक भेडापालन गरेका छन् ।
छन्त्यालले मल्कबाङको लेकाली जङ्गलमा व्यवसायिक रुपमा भेडापालन गरेको देख्दा गाउँले अचम्म मान्छन् । अलिकति पैसा कमाएपछि सहरबजार झर्ने प्रचलन गाउँमा छ । तर छन्त्याल भने पैसा कमाएपछि सहरबजारबाट गाउँ फर्किए । उनी गाउँ मात्र फर्किएनन् जंगलमा व्यवसायिक रुपमा भेडापाल्न थालेपछि गाउँलेहरु समेत दङ्ग छन् । तीन वर्ष अघि ३२ लाख लगानी गरेर व्यवसायिक भेडापालन थालेका छन्त्यालसँग अहिले ४८० भन्दा बढी भेडा छन् । तीनवर्षको अवधिमा छन्त्यालले भेडापालनका लागि करिब ५६ लाख रुपियाँ लगानी गरिसकेका छन् ।

यो अवधिमा ८ सय वटा भेडा विक्री गरेर ६० लाख भन्दा बढी आम्दानी गरेको उनले बताए । भेडा हेरालोलाई पारिश्रमिक,औषधि उपचार र खानेवस्ने गरी वार्षिक रुपमा ६ लाख रुपियाँ खर्च हुने उनले सुनाए । यस वर्षको दशैंमा मात्र छन्त्यालले १४ लाख बराबरका भेडा विक्री गरे ।
भेडापाल्नका लागि लेकाली जङ्गल आवश्यक पर्दछ । प्रयाःजसो जंगलमै बास बस्नुपर्दछ । चिसो मौसम र झरीबादल भन्न पाइदैन । धौलागिरि हिमालको आधारशिविर सम्म भेडा पुर्याउनुपर्दछ जुन चुनौतीपूर्ण छ । मल्कबाङ गाउँदेखि पाँचघण्टाको यात्रा पछि पुग्न सकिने पुतली डाँडामा यतिखेर छन्त्यालको भेडीगोठ छ । चिसो मौसममा बेसी तिर र गर्मीमा लेकतिर भेडा लैजानु पर्दछ ।
वर्षको तीनपटक सम्म भेडा व्याउने गर्दछ । एकवर्षमा करिब ३०० जति भेडा उत्पादन हुने छन्त्यालले बताए । छन्त्यालको गोठमा यतिखेर माउ बाख्रा करिब ३००,पाठापाठी ६० र खसी एकसय वटा जति छन् । वर्षको तीनपटकसम्म भेडा ब्याउँछ । ६ महिनादेखि एकवर्षको अवधिमा खसी विक्रीका लागि योग्य हुने छन्त्यालले बताए ।
भेडा हेर्ने हेरालो पाए अझै एकसय जति भेडा थप्ने योजना छन्त्यालले बनाए । चितुवा, स्याल लगायत जंगली जनावरबाट भेडालाई बचाउन छन्त्यालको गोठमा चार वटा भोटे कुकुर समेत छन् ।
बिहान उठेपछि भेडाबाख्राको संख्या बुझ्ने, दूध दुहुने, खाना पकाएर खाने र चरण क्षेत्रमा भेडाबाख्रा लैजाने छन्त्यालको नियमित दैनिकी हो । भेडा हेर्नका लागि छन्त्यालले दुइजनालाई रोजगारीसमेत दिएका छन् ।




