२०८३ बैशाख ८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २० माघ । दमकका सरोज ( सरद ) भट्टराईले पालेका ४ हजार २ सय ब्रोइलर कुखुरा एकमहिनाका भएपछि अचानक मर्नथाले। औषधि उपचार गर्दासमेत ठिक नभएपछि विराटनगरस्थीत पशु प्रयोगशालामा परिक्षणका लागि कुखुरा पुर्‍याए। केही दिनपछि केन्द्रीय पशु प्रयोगशाला त्रिपुरेश्वर, काठमाण्डौको परीक्षण रिपोर्टमा कुखुराहरु H9 भाइरसबाट संक्रमित भएकाे देखियो ।

भट्टराई भन्छन्- ” ३५ दिन पुगेका चारहजार दुइसय सबै ब्रोइलर मरेर सकियो । अहिले खोर रित्तै छ ।” भट्टराईको मात्र होइन सुनसरी इनरुवाका दिनेश कार्कीको २ हजार पाँचसय हुर्किसकेका ब्रोइलर सबै मरे। कार्कीले पालेका ब्रोइलरमा रानीखेतको लक्षण देखिएपनि कुन रोगबाट यति धेरै कुखुरा मरे एकिन हुन नसकेको कार्कीले बताए ।

इनरुवाका पोल्ट्री व्यवसायी मनोज कुँवर भन्छन्, ” अहिले सबैतिर ब्रोइलर कुखुराको मृत्युुदर बढिरहेको छ। एकमहिना पुगेका र त्योभन्दा माथीका कुखुरा मर्नाले किसानहरुले ठूलो घाटा व्यहोर्नुपरेको छ । कुँवरले अगाडि थप्दै भने, ” मसँगै कारोबार गरिरहेका किसानहरुको पनि हुर्केका कुखुरा मरिरहेका छन् । किसानले पालेका ठूला ब्रोइलर अत्यधिक मरेकाले समेत अहिले बजारमा ब्रोइलर कुखुराको अभाव हुन थालेको छ । यस्तै होभने ब्रोइलर व्यवसायबाट धेरै किसानहरु पलायन हुने सम्भावना छ ।”

यी त प्रतिनिधिमुलक पात्र मात्र हुन् । पछिल्लो समय ब्रोइलर कुखुरामा मृत्युदर बढ्दै गएपछि अहिले पूर्वक्षेत्रका किसानहरु चिन्तित हुन थालेका छन् । मिश्रित संक्रमणले ब्रोइलरमा मृत्युदर बढेको विज्ञहरु बताउँछन् । तर, यतिबेला कुखुराको भाउ राम्रो भएका बेला बिक्रि हुने समयका कुखुरा मर्न थालेकाले चिन्ता थपिएको किसानहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!