झापा, २६ माघ । झापाको गौरादह नगरपालिका–२ स्थित क्याम्पसमोडका रोनिस बायोफ्लोक फिस फार्मिङका सञ्चालक मोहन पराजुलीले सानो पानीको टयाङ्कीमा व्यावसायिक माछापालन गरेर राम्रो आम्दानी लिँदैछन् । उनले घरको करेसाबारीमा नै १० हजार लिटर क्षमताका चारवटा ट्याङ्की निर्माण गरेका छन् । यो प्रविधिबाट राम्रो आम्दानी हुन थालेपछि अन्य दुईवटा ट्याङ्की थप गर्न लागेको पराजुलीले बताए ।
यो प्रविधिमा सानो स्थान, थोरै क्षेत्रफल, थोरै पानीमा धेरै आम्दानी गर्न सकिने बताउँदै उनले ट्याङ्कीमा माछापालन गर्दा पोखरीमा जस्तो सर्प, कीरा, भ्यागुता, बकुल्ला चराजस्ता सिकारीबाट समेत बचाउन सकिने बताए ।
ठूलो पोखरीमा गरिएको माछा खेतीमा ३० देखि ४० प्रतिशत माछाका भुरा नासिँदा उत्पादन कम हुन्छ तर ट्याङ्कीमा त्यस्तो समस्या नहुने पराजुलीका भनाइ छ । नेपालमा यो प्रविधि भित्र्याउने झापाका कुवेर ढुङ्गाना प्रदेश १ मा मात्र करिब एक सय जनाभन्दा बढी किसानले व्यावसायिक रूपमा माछापालन गर्न थालेको बताए । इन्डोनेसियामा अध्ययन गरेर उक्त प्रविधि नेपालमा उपयोगी हुने भएपछि आफूले गत वर्षदेखि परीक्षणस्वरूप सुरुवात गरेको जानकारी दिए ।
ढुङ्गानाले बिर्तामोड नगरपालिकामा कालिका बायोफ्लोक फिस फार्मिङका सञ्चालन गर्दै आएका छन् । हाल छवटा ट्याङ्की रहेकोमा अब एक लाख लिटर क्षमता भएका नयाँ ट्याङ्की थप्ने काम धमाधम भइरहेको जानकारी दिए । चार फिटदेखि साढे चार फिट अग्लो दस हजार लिटरको ट्याङ्कीमा एक पटकमा एक हजार दुई सयसम्म माछाको भुरा पाल्न सकिने बताए । उनले भने, “यसरी सानो ट्याङ्कीमा पाल्दा चारो सबै माछाले समान रूपले खान पाउँछन् । सबैको तौल समान रूपले बढ्छ । ”
सानो ट्याङ्कीमा पानीको तापक्रम समान हुने भएकाले चार महिनामा नै माछा खान योग्य हुन्छ । ठूलो पोखरीमा भने भुरा हालेको छ महिना पछिमात्र खान योग्य हुन्छन् । यो नयाँ प्रविधिमा चार महिनामा नै औसत पाँचदेखि सात सय ग्रामसम्मको तौलको माछा हुन्छ, जुन खान योग्य हुने उनको भनाइ छ ।
बायोफ्लोक प्रविधि निर्माण गर्दा सुरक्षित प्लास्टिकको ट्याङ्की निर्माण गरिन्छ । ट्याङ्कीमा माछा पाल्नु अघि यसको उपचार गरिन्छ । दस हजार लिटर क्षमताको ट्याङ्कीमा पानी भरेपछि प्रतिट्याङ्की १० किलो ढिके नुन, आधा किलो गुण वा सक्खर मिसाएर सात दिनसम्म राख्नुपर्छ । यसो गर्दा माछालाई आवश्यक पर्ने खाद्य तत्व पानीमा उत्पादन हुने गर्दछन् । यसरी पानी हालेको १४ दिनपछि माछाको भुरा हाल्नुपर्छ ।
अधिकांश किसानले राम्रो आम्दानी लिन सकेपछि यसलाई व्यापक विस्तार गर्न लागिएको उनको भनाइ छ । उनले यो वर्षमा मात्र नेपालमा १७८ वटा ट्याङ्की निर्माण गरिसकिएको छ । प्रदेश १ मा मात्र झन्डै एक सय बढी ट्याङ्की निर्माण भइसकेको उनको भनाइ छ ।
दस हजार लिटर क्षमताको एउटा ट्याङ्की निर्माण गर्न ६० हजार रुपियाँ खर्च लाग्छ । यो प्रविधिबाट इन्डोनेसिया, कोरिया र इजरायलमा बढी चलेको बताइएको छ । एक ट्याङ्कीमा सामान्य एक फसल माछा झिक्दा खुद नाफा ३५ हजार हुन्छ भने एक वर्षमा एउटा ट्याङ्कीमा दुई पटकसम्म माछा पालन गर्न सकिन्छ ।




