२०८३ भाद्र १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

नेपालगञ्ज, २७ माघ । बाँकेमा लगाईएको दलहन बालि मसुरोमा लाहिकीरा र डडुवा रोगको प्रकोप देखिएको छ । जिल्लाका किसानहरुले लगाएको मसुरो बालीमा लाहिकीरा र डडुवा रोगको प्रकोप देखिएको कोशेबाली अनुसन्धान कार्यक्रम खजुराले जनाएको छ ।

बाँकेका विभिन्न स्थानमा लगाइएको मसुरो बालिमा कालो र हरियो लाहिकीराले नोक्सानि गरेको गुनासो किसानहरुले गरेपछि अनुसन्धान गर्दा केही स्थानमा लाहिकीराको प्रकोप र केही स्थानमा डडुवा रोगको प्रकोप देखिएको कोशेबाली अनुसन्धान कार्यक्रम खजुराका प्रमुख डा. राजेन्द्र दराईले बताए ।

उनले कीटनाशक विषादीको रुपमा इमिडाक्लोपरिड १ एम एल एक लिटर पानीमा मिसाई बोट भिज्ने गरि छर्ने र निमजन्य जैविक विषादी प्रयोग गर्न किसानलाई सल्लाह दिइएको बताए । कोशेबाली अनुसन्धान कार्यक्रमका प्रमुख डा. दराईका अनुसार अहिले किसानका खेतबारीमा मात्र नभई कोशेबाली अनुसन्धान कार्यक्रम खजुराले गरिरहेको मसुरोको अनुसन्धानस्थलमा पनि डडुवा र लाहि किरा केहि मात्रामा देखिएको हो ।

विज्ञहरुका अनुसार मसुरो बालिमा डडुवा रोग लागेको बेला पात झर्दै जाने, फुल पनि झर्ने र अन्त्यमा बोट नाङगो देखिने गर्दछ । साथै मसुरोमा ओइलाउने, जरा कुहिने रोग पनि देखा पर्ने हुदाँ समयमै यसको समस्याको समाधान तर्फ पनि ध्यान दिन किसानलाई आग्रह गरिएको बाली रोग बैज्ञानिक लक्ष्मण अर्यालले बताएका छन् ।

उनले मसुरोलाई डडुवा रोगबाट बचाउन असोजको अन्तिम र कात्तिकको पहिलो हप्तामा मसुरो लगाउनुपर्ने सुझाव किसानलाई दिइएको पनि बताए । खजुरामा रहेको कोशेबाली अनुसन्धान कार्यक्रमका अनुसार हाल मसुरोका १४ वटा जात सिफारिस गरिसकिएको छ । बाँके, बर्दिया जस्ता जिल्लाका लागी खजुरा मसुरो १, २, ३, ४ र श्रदा कालो मसुरो उपयुक्त मानिएको छ ।

कीरा र रोगबाट जोगाउन सकिए बाँके र बर्दियामा मसुरोको उत्पादन गत वर्षभन्दा यस वर्ष बढ्ने संकेत देखिएको कोशेबाली अनुसन्धान कार्यक्रमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!