कञ्चनपुर, ३ फागुन । उत्पादन घटेपछि कञ्चनपुरमा सञ्चालित चिनी मिललाई उखुको अभाव भएको छ । उखु रोप्ने समयमा भएको बन्दाबन्दीका कारण उखु उत्पादक किसानले समयमै मल खाद पाउन नसक्दा र पर्याप्त वर्षा नहुँदा उखुको उत्पादन घटेको हो ।
बेलौरी नगरपालिकाको शिवनगरमा सञ्चालित महाकाली सुगर इन्डष्ट्रिज र पुनर्वास नगरपालिकामा सञ्चालित भागेश्वर चिनी मिललाई सिजनमा ६० लाख क्विन्टलभन्दा बढी उखु क्रसिङका लागि आवश्यक पर्दछ । दुवै मिलले सिजनमा मुस्किलले ४० लाख क्विन्टल उखु मात्रै क्रसिङ गर्दै आएका छन् ।
उखु अभाव भएपछि निर्धारित समयअगावै मिल बन्द गर्नुपर्ने अवस्था आएको महाकाली सुगर इन्डष्ट्रिजका प्रबन्धक सिडी पाण्डेयले बताए । उनले भने, “किसानलाई उखुको उत्पादन बढाउनका लागि जग्गा बढाउनुपर्ने हुन्छ । नयाँ प्रविधितर्फ आकर्षित गरी उन्नतजात लगाउन उत्प्रेरित गरिए उखुको उत्पादन बढाउन सकिन्छ ।”
विश्वका सबैभन्दा उन्नत उखुका जात ल्याएर किसानलाई लगाउन दिइएको उनको भनाइ छ । छ वटा उपकेन्द्रमा आबद्ध किसानलाई अनुदानमा कृषि उपकरणसमेत मिलका तर्फबाट उपलब्ध गराइएको इन्डष्ट्रिजका अर्का प्रबन्धक राजेश्वर शाहले बताए । कृषि उपकरणसँगै उखु खेती गर्ने आधुनिक तरिका किसानलाई सिकाइएको छ । “परम्परागतरूपमा हुँदै आएको खेती छाडेर किसानले ट्रेन्च प्रविधिबाट उखु खेती गर्दै आएका छन ।
उखु उत्पादन गर्दै आएका किसानलाई मिलमा उखु बेचेको २४ घण्टाभित्रै अनलाइन प्रणालीमार्फत भुक्तानी दिने व्यवस्था गरिएको उनको भनाइ छ । मङ्सिरदेखि चैतको अन्तिम सातासम्म उखु मिल सञ्चालन हुने गरेका छन् । एक क्विन्टल उखुबाट १० किलोको हाराहारीमा चिनी उत्पादन हुने गरेको छ । चिनी मिलसँगै गाउँमा उखु पेल्ने कोल्हु (खाँडसारी उद्योग) समेत सञ्चालनमा छन् ।
कोल्हु सञ्चालकहरूले उखु पेलेर गुड बनाउने गरेका छन् । गुड बनाउन झण्डै तीन लाखदेखि पाँच लाख क्विन्टल उखु खपत हुने गरेको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार कञ्चनपुरमा पाँच हजार ६३ हेक्टर क्षेत्रफलमा दुई लाख २२ हजार ३५७ मेट्रिक टन उखु उत्पादन हुने गरेको छ । सोमध्ये २०० बिघा क्षेत्रफलमा रेडक्रसले मर्सिकोरको सहयोगमा एमरेड परियोजनाअन्तर्गत बगरमा उखु लगाइने गरिन्छ ।






