२०८३ जेष्ठ १९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडाैँ, ५ फागुन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले हाल नेपालमा प्रयोग भइरहेकाे कोरोना भाइरसविरुद्धको खोप कोभिसिल्डलाई अनुमति दिएको छ । डब्लुएचओले अक्सफोर्ड विश्वविद्यालय र औषधि उत्पादक कम्पनी अस्ट्राजेनेकाको सहकार्यमा बनाइएका दुईथरी खोपमध्ये भारतको सेरम इन्स्टिच्युटद्वारा उत्पादित कोभिसिल्डलाई सोमबार आपत्कालीन प्रयोग अनुमति दिएको हो ।

यसैगरी संगठनले अस्ट्राजेनेका र दक्षिण कोरियाली कम्पनी एसकेबाओद्वारा निर्माण गरिएको खोपलाई पनि स्वीकृति दिएको छ । यसअघि ३१ डिसेम्बरमा डब्लुएचओले फाइजरद्वारा निर्मित खोपलाई आपत्कालीन प्रयोग अनुमति दिएको थियो । संगठनले अनुमति दिएपछि कोभिसिल्ड खोपलाई कोभ्याक्स सुविधाअन्तर्गत विश्वव्यापी रूपमा प्रयोग गर्न बाटो खुलेको छ ।

संगठनले खोपको गुणस्तर, सुरक्षा र प्रभावकारिता समीक्षा गरेरमात्र आपत्कालीन प्रयोग सूची (इमरजेन्सी युज लिस्टिङ) मा समावेश गर्छ। कोभ्याक्स सुविधाअन्तर्गत आपूर्ति गर्नुअघि सम्बन्धित खोप उक्त सूचीमा समावेश हुन आवश्यक हुन्छ ।  संगठनको आपत्कालीन प्रयोग सूचीमा समावेश हुनुअघि खोपको दोस्रो तथा तेस्रो चरणमा गरिएका परीक्षण नतिजालाई स्वतन्त्र समूह तथा डब्लुएचओको विज्ञ टोलीले समीक्षा गरेका थिए ।

नेपाल सरकारले भारत सरकारको अनुदानमा प्राप्त १० लाख मात्रा कोभिशिल्ड खोप यहि माघ १४ गतेदेखि लगाउन थालेको हो । सरकारले कोभिशिल्ड को प्रभावकारी ७८ प्रतिशत रहेको दाबी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमले खोपको प्रभावकारिता ७८ प्रतिशत देखिएकाले ढुक्क भएर लगाउन आग्रह गरेका थिए ।

उनले खोपले अहिलेसम्म ठूलै नकारात्मक असर नगरेकाले खोप निर्धक्क भएर लगाउनुपर्नेमा जोड दिँदै खोप लगाउँदा सामान्य असर देखिएपनि त्यो असर विस्तारै आफैँ हराएर जाने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!