लम्की, १८ फागुन । कैलालीको घोडाघोडी नगरपालिका–८, लठुवाका वसन्त रेग्मी गैरसरकारी संस्थाको लामो जागिरेबाट बिदा लिएर कृषि व्यवसायमा लागेको सात महिना मात्र भएको छ । तर, व्यावसायिक बाख्रापालन र लोकल कुखुरापालन व्यवसायमा लागेका रेग्मीले छोटो समयमै राम्रो आम्दानी गर्न थालेका छन् ।
रेग्मीले भिनाजु भीमलाल न्युरे र छिमेकी नरेन्द्र चौधरीको पार्टनरसिपमा १०-१० लाख लगानी लगाए । अहिले उनीहरूले बाख्रापालन र कुखुरापालन व्यवसाय सुरु गरेको पनि पाँच महिना पुगिसकेको छ ।
न्युरे शिक्षण पेसा छोडेर यस व्यवसायमा लागेका हुन् भने चौधरीले गैरसरकारी संस्थाको जागिर छोडेर कृषि व्यवसायमा लागेका हुन् । अन्य व्यापार व्यवसायलाई कोरोनाले तहस नहस पारिरहेका बेला कृषि व्यवसाय नै उत्तम ठानेर सुरुमै फार्म दर्ता गरेर व्यवसाय सुरु गरेको वसन्तले बताए ।
असार महिनामा कल्पवृक्ष एग्रोफार्म एण्ड रिसर्च सेन्टरका नाममा फार्म दर्ता गरेर तीस लाख लगानीमा कुखुरापालन र बाख्रापालन व्यवसाय सुरु गरेको हामीले प्रतिफल लिन थालेका छौँ, उनले भने ।
व्यवसायका विषयमा सामाजिक सञ्जाल युट्युबबाट जानकारी लिएर सुरु गरेको बताउँदै रेग्मीले भने, सुरुमा ३५० लोकल कुखुरा हालेका थियाैँ, ती हुर्किएर पनि बेचिसक्यौँ, राम्रै हुँदो रहेछ पहिलो पटकमै ६० हजार फाइदा भयो । अहिले रेग्मीको दुईवटा खोरमा एक हजार २०० कुखुरा हुर्कंदै छन् भने बाख्राले समेत बगाल बढाउँदै छन् । तीनवटा बोयर जात र ४० वटा लोकल बाख्राबाट व्यवसाय सुरु गरेका छाैँ । खोरमा छवटा पाठापाठी थपिसकेका छन् ।’




