काठमाडौँ, १८ फागुन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बिक्री हुन नसकेको दूध तथा दुग्धजन्य पदार्थ बेच्न बजार खोज्न थालेको छ । त्यसका लागि मन्त्रालयले गृह, रक्षा तथा शिक्षा मन्त्रालयलगायत अन्य निकायसँग छलफल सुरु गरेको छ ।
कृषि मन्त्रालयले यी तीनवटै मन्त्रालयका पदाधिकारी तथा त्यस मातहतका निकायलाई बोलाएर छलफल गरी दूध तथा दुग्ध पदार्थ खरिदका लागि आग्रह गरेको हो । नेपाली प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, विद्यालय तथा क्याम्पसका विद्यार्थीका लागि दूध तथा दुग्ध पदार्थ खरिद गर्नका लागि नीतिगत निर्णय गर्न आग्रह गरिएको मन्त्रालयका सहसचिव विमल निर्मलले जानकारी दिए ।
कोभिड–१९ महामारीका कारण ६० प्रतिशत दूधको बजार कम भएको थियो । त्यसमा हाल केही वृद्धि भए पनि पुरानै अवस्थामा अझै नफर्केका कारण दूध तथा दुग्धजन्य पदार्थ खपत गर्नसक्ने सम्भावित क्षेत्र तथा निकायसँग छलफल भइरहेको उनले बताए ।
नेपाली सेनाले नेपाल दुग्ध विकास संस्थान (डीडीसी)सँग अलिअलि दूध खरिद गर्न सुरु गरेको छ । डीडीसीका अनुसार नेपाली सेनाले दैनिक १६ सय लिटर दूध खरिद गरिरहेको छ । त्यसमा अझै थप्न आग्रह गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरीले पनि खरिद गर्नुपर्ने मन्त्रालयको आग्रह रहेको छ । सुरक्षा निकायमा मासु अनिवार्य गरेजस्तै दूध र अण्डा पनि अनिवार्य गर्नुपर्ने कृषि मन्त्रालयको आग्रह छ ।




