चितवन, २० फागुन । पूर्वी चितवनको रत्ननगरका विनोद पोखरेललाई २६ वर्षको कठोर परिश्रमले आज देशकै अग्रणी पोल्ट्री व्यवसायी बनाएको छ । कुखुरापालन व्यवसायमा दानादेखि चल्ला हुँदै अण्डा र मलसम्मको उत्पादन र बजारीकरणमा उनको नेतृत्वको दाउन्ने कर्पाेरेट सफल भएको छ । यसअन्तर्गत किसान दाना उद्योग, दाउन्ने भेट फर्मा, दाउन्ने एग्रो, किसान एग्रो, एडभान्स पोल्ट्री रहेका छन् ।
कर्पाेरेटको कार्यकारी निर्देशक पोखरेल हुन् । २०५१ मा आफ्नै काकासँग मिलेर काठमाडौँमा पोल्ट्री फार्म शुरु गरेका पोखरेलले त्यसको पाँच वर्षपछि आफूले फार्मसँगै ट्रेडिङको व्यापार शुरु गरेका थिए ।
दाउन्ने ट्रेडर्स नामक कम्पनीबाट उनले व्यवसाय शुरु गरे । त्यसको केही वर्षपछि विसं २०६३ मा चितवनमा उनको व्यवसाय विस्तार भयो । साझेदार थिए राजकुमार गुरुङ । पोखरेलले सम्झना गरे, “शुरुमा बुबाले काकासँगको साझेदारमा केही रकम शेयर राखिदिएको भए पनि त्यसपछिका दिनमा त्यही रकमले व्यवसाय विस्तार हुँदै गएको हो ।” बुबा सुरेन्द्र र काका डा टीका पोखरेलको लगानीको साझेदारी पोल्ट्री फार्मलाई पोखरेल आफ्नो व्यवसायको शुरुआती मान्छन् ।
गुरुङसँग साझेदारी हुँदा उनीहरुले रु ५० लाख लगानी गरे । आजसम्म आइपुग्दा उनको नेतृत्वको कम्पनीमा लगानी रु दुई अर्ब ६० करोडभन्दा बढी पुगेको छ । उक्त रकममा बैंकको लगानी पनि रहेको छ । ती कम्पनीमा १२० भन्दा बढी साझेदार छन् । यद्यपि पोखरेल परिवारको लगानी आधाभन्दा बढी पुगेको छ । त्यसैले निर्णायक भूमिकामा रहेर पोखरेलले काम गर्ने अवसर पाएका छन् ।




