२०८३ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

बैतडी, ५ चैत । बैतडीका एक शिक्षक दम्पत्तीले बाँझो जग्गा स्याहारेर ४० रोपनी क्षेत्रफलमा व्यावसायिक आलुखेती सुरु गरेका छन् । बैतडीको पाटन नगरपालिका–८, खोपड्पेका कृष्ण बिष्ट र कलावती भण्डारी बिष्टले ४० रोपनी जमिनमा कार्डनिल जातको ४० क्विन्टल आलुको बीउ रोपेर व्यावसायिक आलुखेती सुरु गरेका हुन् ।

स्थानीय ज्ञानेश्वर माध्यमिक विद्यालयमा विज्ञान विषयका शिक्षक कृष्ण बिष्टले बीएस्सीसम्मको अध्ययन गरेको छ । कलावती बिष्ट स्थानीय विद्यालयमा बाल विकास कक्षामा पढाउँछिन् । शिक्षण पेशमा आबद्ध रहेका दुवै श्रीमान-श्रीमतीले शिक्षण पेशा गरेर बचेको समय सदुपयोग गर्दै बाँझो जमिन स्याहार्दै आलुखेती सुरु गरेको बताए ।

बैतडीको खोड्पे क्षेत्र आलु उत्पादनका लागि प्रसिद्ध ठाउँ मानिन्छ । यहाँको मुख्य नगदे वालीका रुपमा आलुखेती हुने गरेको छ । जमिन बाँझो राख्नुभन्दा केही उद्यम गर्नुपर्छ भन्ने सोच पलाएपछि शिक्षणपेशसँगै दम्पती मिलेर ४० रोपनी जमिनमा करिब सात लाख रुपियाँको लागतमा आलुखेती सुरु गरिएको कलावती बिष्टले बताइन् ।

शिक्षण पेशा गरेर पनि साँझ बिहानको समय बचत हुने भएकोले केही नमुना काम गरेर देखाउन ठूलै लगानी र मिहिनेत गरेर आलुखेती सुरु गरेको शिक्षक कृष्ण बिष्टले बताए ।

बिष्टले भने, “ जग्गा त्यत्तिकै बाँझो थियो । लगानी र मिहिनेत गर्न सके व्यवसायीक रुपमा आलुखेती गर्न सकिने देखिएपछि यो वर्ष ४० क्विन्टल आलुको बीउ रोपेको छु । सिचाँइका लागि पानी ल्याउन डेढ लाख खर्च भयो । जङ्गली बँदेलबाट आलु खेती जोगाउन तीन लाख ५० हजार खर्च गरेर तारजालीको घेरबार लगाएको छु । आफ्नै स्वलगानीमा आलुखेती गर्ने आँट गरेपछि कृषि ज्ञानकेन्द्र बैतडीले पनि डेढलाख रुपियाँ अनुदान सहयोग दिएको छ । ”

न्यू एसके कृषि पशु बहुउद्देशीय फर्म दर्ता गरेर सुरुको वर्षमै ४० क्विन्टल आलुको बीउ रोपेको बिष्टले बताए ।  “एक किलो आलुको बीउबाट करिब १५ किलो आलु फलाउने लक्ष्य छ,” बिष्टले भने,, “ ४० क्विन्टलबाट बढीभन्दा बढी आलु फलाउन सिँचाइ र गोठेमलको प्रयाप्त व्यवस्था गरेको छु । ”

४० रोपनी क्षेत्रफलमा सुरु गरिएको आलुखेतीमा प्रत्यक्ष रुपमा स्थानीयले रोजगारी पाएको उनले बताए । गोडमेल गर्ने, समय समयमा मल हाल्ने कामका लागि दैनिक ज्यालादारीमा स्थानीयले रोजगारी पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!