सुन्दरहरैंचा, ५ चैत । जिल्ला कृषि सहकारी संघ मोरङले मातहतमा रहेका सहकारीमा आवद्ध सदस्यहरूको कृषि फर्महरुको अनुगमन गरेको छ । बिहीबार संघका पदाधिकारीहरूको टोलीले मोरङको पथरीशनिश्चरे नगरपालिकामा रहेको उत्साही साना किसान कृषि सहकारी संस्थामा आवद्ध कृषकहरूको फर्ममा पुगेर उनीहरूले गरेका कामहरू र उपलब्धिको बारेमा अनुगमन गरेको हो ।
अनुगमनका गरि संस्थामा आवद्ध कृषकहरूको गुनासो सुन्ने, उनीहरूले गरेका प्रगतीको बारेमा अरू कृषकहरूलाई जानकारी गराउने तथा समस्याको सामधान गर्न पहल गर्ने उद्देश्यका साथ अनुगमन सुरु गरिएको संघका उपाध्यक्ष शोभित पौडेलले जानकारी दिए । संघमा आवद्ध जिल्लाका कृषि सहकारीहरुको अनुगमन गर्ने क्रममा पथरीशनिश्चरेबाट अनुगमनको कार्य सुरु गरिएको उनले बताए ।
अनुगमनका क्रममा उत्साही सहकारीको काम अत्यन्तै उत्साहजनक रहेको पाइएको उनको भनाइ छ । जिल्लाबाट गतवर्ष उत्कृष्ट सहकारीको पुरस्कार पाइसकेको यस सहकारीमा आवद्ध कृषकहरुले बाख्रा फर्म, बंगुर फर्म, केराखेती, अर्ग्यानिक तरकारी खेती, गाई तथा भैंसीपालन लगायतका व्यवसाय गरेर राम्रो आर्जन गर्न सफल भएको अनुगमनका क्रममा पाइएको छ ।
सफल भएका व्यवसायीक कृषकहरुलाई सरकारी स्तरबाट समते सहयोग गरी हौसला बढाउन आवश्यक देखिन्छ। अर्कोतर्फ उत्साही सहकारीमा आवद्ध भएका सेयर सदस्यहरूको गुनासो तथा कृषि क्षेत्रमा देखिएका समस्याहरूको बारेमा पनि अनुगमनका क्रममा जानकारी लिइएको छ । अब कृषकहरुका समस्या समाधानका लागि सम्बन्धित निकायमा संघले पहल गर्न आवश्यक देखिन्छ ।




