डुमरलाल मेहता
देवानगञ्ज, ९ चैत । सुनसरीको देवानगञ्ज वडा नं १ यादव टोलका रुद्रकुमार मेहता उमेरले २८ पुगे । युवा जोश बोकेका उनी अघिल्लो वर्ष छुट्टीमा कतारबाट स्वदेश फर्किए ।
कतारमा टिभी केबलसम्बन्धी काम गरेर फर्किएका उनी कोरोना महामारीका कारण सरकारले लकडाउन जारी गर्नुभन्दा अगाडि स्वदेश फर्किएका थिए । तर, कोभिडका कारण लकडाउन भएपछि उनी पुनः कतार जान पाएनन् ।
देशमा लकडाउन भएपछि उनी अलमल्लमा परे । किनकि कतारमा उनको कमाइ राम्रो थियो । यसैले त उनलाई एकपटक पुनः कतार गएर जीवन राम्ररी चलाउने धोको थियो । तर, कोभिडका कारण आफू नेपालमै बस्नुपर्ने भएपछि उनमा अन्यौलता छायो ।

केही दिन आफन्त भेटघाटमा रमाउँदै गए । तर दिन बित्दैजाँदा बिरक्त लाग्न थाल्यो । र, उनले परम्परागत बाली भइरहेको खेतमा व्यवसायिक तरकारी खेती गर्ने मनसाय बनाए । अहिले निर्माणाधीन हुलाकी राजमार्गले उनको १२ कठ्ठा खेत दुई चिरा बनाएको छ ।
‘पहिले साढे १२ कठ्ठा खेत थियो । हुलाकी राजमार्गले लगभग अढाइ कठ्ठा जग्गा खाइदियो । यस कारण दस कठ्ठा भयो’, ग्रामीण खबरको टोली पुग्दा खेतमै रहेका उनले भने, ‘त्यै दस कठ्ठामा व्यवसायिक तरकारी खेती गर्ने सोच बनाएँ ।’

उनले सुरुमा टमाटर, बन्दा लगाएका थिए । पहिलो सिजनमा भरपुर लगावका साथ हौसिएका उनी लकडाउनका कारण टमाटार नबिकेर कुहिन थाल्दा खस्रक्क परे । उनले कोरोना महामारी लामो अवधिसम्म नरहने अनुमानका साथ हौसिएर तीन कठ्ठामा टमाटर लगाएका थिए ।
सानो पुँजी भएका कारण टमाटर बजारमा बेच्न नपाएपनि निराश बने । कतैबाट उनले प्रदेश सरकारबाट राहत रकम पाइन्छ भन्ने सुने र प्रदेश राजधानी विराटनगर धाए । उनले प्रदेश १ सरकारबाट कोभिडका कारण भएको क्षति शीर्षकमा ३१ हजार रुपैयाँ पाएका थिए ।

सो पैसाले उनले खोर्सानी, काउली, बैगुन, आलु, बन्दा, भिन्डीलगायत तरकारी सुरु गरे । सबै गरेर उनले २५ हजार फाइदा निकाले । अहिले उनले ती तरकारी खेतीबाट जीविकोपार्जन गरिरहेका छन् ।
‘बन्दा खेती गर्दा श्रमको मूल्य पनि आएन’
अरू खेतीले उनलाई उकासे पनि बन्दाबाट भने उनलाई फाइदा भएन । बाटोको छेवैमा अरूभन्दा धेरै जग्गामा बन्दा लगाएका उनले त्यसबाट श्रमको मूल्य पनि पाएनन् । उनले जम्मा २–३ हजारको मात्र बन्दा बेच्न पाए ।
निर्माणाधीन हुलाकी राजमार्गका कारण धुलोका कारण बन्दा राम्ररी फलेनन् । उनी भन्छन्, ‘अहिले हुलाकी राजमार्ग पिच गर्ने काम भइरहेको छ । धुलोले बन्दा सखाप पारिदिएको छ । फेरि खासै फलेन । अरू नै तरकारीले उकास्यो यसबाट जसोतसो लगानीमा मात्र उठाएँ’, उनले भने ।







