खोटाङ, ११ वैशाख । खोटाङमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार बिहान खोटाङ हलेसीतुवाचुङ नगरपालिका-१ कदुवास्थित मध्यपहाडी लोकमार्गमा भएको सो दुर्घटनामा परी बसका सह-चालक सिन्धुली घ्याङलेक गाउँपालिका-१ का २५ वर्षीय अनिल तामाङको मृत्यु भएकाे हो ।
आज बिहान ११ बजे हलेसी दर्शन गरी सप्तरी फर्केको बसमा चालकसहित ३९ जना यात्री सवार थिए । बा३ख ९२८५ नम्बरको उक्त बस आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल्लो सडकमा खस्दा सह-चालक तामाङको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।
साे दुर्घटनामा अन्य २२ जना गम्भीर घाइते भएकाे र १६ जना सामान्य घाइते भएका छन् । दुर्घटना भएको जानकारी पाए गतै प्रहरी चौकी च्यास्मिटर, इलाका प्रहरी कार्यालय हलेसी र जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी नायव उपरिक्षकको कमाण्डमा प्रहरी घटनास्थल पुगेर घाइतेहरूलाई उपचारको लाग अस्पताल पठाएको थियो ।
यस्तै दुर्घटनाग्रस्त बसका कारण सडक अवरुद्धसमेत बनेकाे थियो । दिउसो सँवा २ बजे जेसिबी लगाएर दुर्घटना भएको बसलाई साइड लगाई बाटो सूचारु गराएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।




