
विराटनगर, २१ वैशाख । भारतबाट अवैध रकम लिएर नेपाल प्रवेश गर्दैगरेका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर–१६ का अमद यादव र भारतको कटिहार नयाँटोल घर भई विराटनगर–१५ हड्तालिहाट बस्दै आएका अभिषेक चौधरी रहेका छन् ।
सोमबार विराटनगर–१६ दरैयाबाट सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा पोष्टले खुट्टामा पैसाको बिट्टा कसेर दरैयाबाट नेपाल प्रवेश गर्ने दुई जनालाई पक्राउ गरेको हो ।
उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट दुवै जना अवैध ढंगले पैसाको कारोबार गर्ने व्यक्तिहरु भएको खुलेको छ । रातको समयमा विराटनगर–१६ दरैयास्थित सीमाक्षेत्र हुँदै भारतबाट नेपाल प्रवेश गर्दै गरेको अवस्थामा यादव र चौधरीलाई अलग–अलग समयमा पक्राउ गरिएको सशस्त्र प्रहरी बल मोरङका प्रवक्ता डीएसपी नवीनसिंह राईले जानकारी दिए ।
पक्राउ परेकामध्ये चौधरी भारत कटिहार नगरपञ्चायत–४४ नयाँटोलका बासिन्दा हुन् । अवैध बाटो हुँदै भारतबाट नेपाली रुपैयाँ नेपाल र नेपालबाट भारतीय रुपैयाँ भारततर्फ ल्याउने एवं लैजाने गिरोह सक्रिय रहेका कारण नियन्त्रणमा लिन विशेष टोली परिचालन गरिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले बताए ।
सशस्त्र प्रहरी बल नेपाल, मोरङका प्रहरी उपरीक्षक तीर्थ पौडेलका अनुसार भारतबाट नेपाल प्रवेश गर्ने क्रममा उनीहरूलाई शङ्का लागेर चेकजाँच गर्दा रकम फेला पारेर बरामद गरिएको हो ।
सशस्त्र प्रहरीले यादवको साथबाट पाँच लाख नेपाली रुपैयाँ र भारतीय नागरिक चौधरीको साथबाट ६ लाख ५० हजार बरामद गरेको हो । रकम हुण्डी कारोबारीको हुनसक्ने अनुमान गरिएको छ ।