२०८३ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, २८ वैशाख । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले राष्ट्रिय किसान आयोगका नवनियुक्त अध्यक्षलाई शपथ ग्रहण गराएकी छन् । कृषि मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रमबीच आयोगका नवनियुक्त अध्यक्ष डा. प्रेमप्रसाद दङ्गाललाई शपथ ग्रहण गराएकी हुन् ।

अध्यक्ष दङ्गालले नवनियुक्त विज्ञ सदस्य पुष्पा भुसाल, सहकारी सदस्य टेकबहादुर बोगटी र किसान सदस्यहरू सूर्यप्रसाद खनाल, मञ्जु धिमाल, जीवन्ती पौडेललाई शपथ ग्रहण गराए । आयोगमा रिक्त रहेका अध्यक्षसहित सदस्यहरूलाई गएको वैशाख १९ गतेको मन्त्रिपरिषद्को बैठकले नियुक्त गरेको थियो । यससँगै किसान आयोगमा रिक्त सम्पूर्ण पदले पूर्णता पाएको छ ।

शपथ ग्रहण कार्यक्रममा कृषिमन्त्री अर्यालले किसानका समस्यामा केन्द्रित रहेर विस्तृत अध्ययन गरी समस्या समाधानमा योगदान गर्न आयोगका पदाधिकारीहरूलाई निर्देशन दिइन् । झन्डै दुई तिहाइ जनसङ्ख्या कृषिमा आधारित रहेको अवस्थामा समग्र कृषि क्षेत्रका समस्याको पहिचान, प्राथमिकीकरण र समाधानका निमित्त स्पष्ट मार्गदर्शन पहिल्याउन आयोग सक्षम रहने विश्वास उहाँले व्यक्त गरिन् ।

उनले कृषि मन्त्रालयसँग सहकार्य गर्दै कृषि क्षेत्रका मौजुदा नीति, ऐन, नियमलगायतका कानुनी व्यवस्थामा रहेका नीतिगत भिन्नतालाई समयसापेक्ष सुधारका सम्बन्धमा राय, नयाँ नीति, ऐन वा नियमावली निर्माणमा सहयोग, किसान कल्याणकारी योजना तर्जुमा, किसान पहुँचको सुनिश्चितता, बजार सरलीकरण, कृषि पेसालाई आकर्षित एवं सम्मानित बनाउन आवश्यक सुझाव तथा पहलकदमी आयोगले लिने विश्वास व्यक्त गरिन् ।

कोरोना महामारीले कृषि क्षेत्रमा पारेका असरको अध्ययन गर्दै किसानलाई आवश्यक उत्पादन सामग्रीको उपलब्धता तथा उत्पादन भएका कृषि उपजलाई बजारको सुनिश्चिततामा समेत आवश्यक सुझाव सरकारलाई पेस गर्न मन्त्री अर्यालले अनुरोध गरिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!