देवानगञ्ज, २९ वैशाख । सुनसरीको देवानगञ्ज गाउँपालिकामा युवा समाजसेवीले सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री वितरण गरेका छन् । मंगलबार देवानगञ्जका दुई समाजसेवी युवा पारसकुमार भगत र मुनमुन भगतले सुरक्षाकर्मीहरुलाई मास्क, सेनिटाइजरलगायत स्वास्थ्य सामग्री वितरण गरेका हुन् ।

उनीहरुले कोरोना भाइरसको दोस्रो लहरको बेला फ्रन्टलाइनमा रहेर जोखिम उठाउँदै अहोरात्र खटिरहेको बोर्डर आउट पोस्ट कप्तानगञ्ज, प्रहरी चौकी कप्तानगञ्ज र इलाका प्रहरी कार्यालय सीतागञ्जलाई मास्क, ह्यान्ड सेनिटाइजर, फेस शिल्ड र सर्जिकल ग्लभ्सलगायत स्वास्थ्य सामग्रीहरु वितरण गरेका हुन् । युवाबाट स्वास्थ्य सामग्री पाएपछि एक सुरक्षाकर्मीले स्थानीय सरकारले गर्न नसकेको काम दुई जना युवाहरुले गरेर देखएकाे बताए ।

यसैगरी, उनले यस्तो विषम परिस्थितिको बेला आफ्नो सुरक्षाको लागि गाउँपालिकासँग स्वास्थ्य सामग्रीको व्यवस्था मिलाइदिन आग्रह गर्दा गापा अध्यक्ष लालीप्रसाद मेहताले दस रुपैयाँको मास्क र पचास रुपैयाँको ह्यान्ड सेनिटाइजर आफैँले किनेर लगाउन सकिँदैन ? भनेर उल्टै जवाफ तेर्स्याएको आरोप लगाए ।




