
काठमाडौँ, ३० वैशाख । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कोभिड–१९ कै कारण किसानले उत्पादन गरेको वस्तु वजारसम्म पुर्याउन कुनै प्रकारको बाधा अड्चन हुन नदिन मातहतका निकायलाई निर्देशन दिएको छ ।
कृषि मन्त्रालयले बुधबार देशैभरि रहेका आफ्नो मातहतका निकायसँग भर्चुअल छलफल गर्दै किसानलाई खेतीपाती गर्न तथा वजारसम्म जानका लागि कुनै प्रकारको समस्या नहोस् भनी त्यसमा सहजीकरणका लागि पहल गर्न निर्देशन दिएको कृषि सचिव डा. योगेन्द्र कार्कीले बताए ।
छलफलमा कृषिमन्त्री पद्माकुमारी अर्याल, कृषितर्फका सचिव कार्की, पशुपन्छीतर्फका निमित्त सचिव डा. विमल निर्मल, कृषि विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), राष्ट्रिय किसान आयोग, दूध विकास बोर्ड, दुग्ध विकास संस्थान (डीडीसी), कृषि सामग्री कम्पनी लि., प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, जोन, सुपर जोनलगायतका पदाधिकारीहरू सहभागी थिए ।
कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि ठाउँठाउँबाट किसान तथा उपभोक्ताको गुनासो आउन थालेपछि कृषिमन्त्री अर्यालकै पहलमा यो छलफल राखिएको बताइएको छ । किसानले उत्पादन गरेको वस्तु कोरोनाकै कारण बजारसम्म नपुगेको गुनासो आइरहेको छ, त्यस्तो अवस्थालाई सहज बनाउन मन्त्री अर्यालले मातहतका निकायलाई निर्देशन दिएकी छन् ।
खेती लगाउने समय पनि आइरहेको छ, कुनै प्रकारको समस्या भयो भने खेती कर्ममा असर पर्छ । त्यसको सीधै प्रभाव उत्पादनमा पर्ने भएकाले किसानलाई चाहिने आवश्यक सहयोग, सुविधामा कुनै प्रकारको कमी आउन नदिन मन्त्री अर्यालले निर्देशन दिएको सचिव कार्कीले बताए ।उत्पादन गरेको वस्तु वजारमा पु¥याउन के के समस्या छन्, त्यो बुझेर प्रदेश, स्थानीय तहसँग समन्वय गरेर त्यसको समाधान गर्न पनि भनिएको उनले बताए ।
कोरोनाका कारण यातायातको अलिकति समस्या देखिएको छ, त्यसको समाधान कसरी गर्न सकिन्छ, त्यसका लागि पनि सुझाव दिन भनिएको छ । किसानले उत्पादन गरेको वस्तु बजारसम्म पुर्याउनमा सहकारी तथा विभिन्न समूहले पनि सहयोग गर्नुपर्ने र उनीहरूसँग मन्त्रालयले समन्वय गर्ने छलफल भएको उनले बताए ।