विराटनगर, ४ जेठ । सुनसरीको देवानगञ्ज गाउँपालिकामा निजी क्लिनिकले कोरोना संक्रमितको उपचार गर्नुपरेमा पालिकाको स्वास्थ्य शाखासँग समन्वय गर्नुपर्ने भएको छ । मंगलबार गाउँपालिकाका प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुख, देवानगञ्ज स्वास्थ्यकर्मी समूह तथा निजी क्लिनिकहरुको छलफलबाट उक्त निष्कर्ष निस्किएको हो ।
देवानगञ्ज गाउँपालिकाका कोरोना रोकथाम तथा नियन्त्रण कमिटीका संयोजक रामखेलन मेहता, स्वास्थ्य शाखा प्रमुख उमेशकुमार मेहता, आयुर्वेद शाखाका प्रमुख जिवच्छकुमार पञ्जियार र सुरेन साह गरी चार जनाको कमिटि गठन गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत चुडामणि गुरागाईको उपस्थितिमा बसेको सो कमिटीको बैठकले संक्रमितले पालिकासँग समन्वय नगरी निजी क्लिनिकमा उपचार गराएको पाइएपछि यस्तो निर्णय गरिएको कमिटीका संयोजक मेहताले जानकारी दिए ।
पालिकालाई जानकारी नगराई निजी क्लिनिकमा उपचार गर्दा ज्यान जोखिममा पर्ने, पालिकामा संक्रमितको संख्याको गणना नमिल्नेलगायत अन्य समस्या आइपर्ने भएका कारण अब संक्रमित निजी क्लिनिकमा गएमा निजी क्लिनिकले नै स्वास्थ्य शाखासँग समन्वय गर्नुपर्ने तथा दैनिक प्रतिवेदन बुझाउनु पर्ने भएको छ ।

‘बोर्डर सिल भए पनि चोरी बाटोबाट आवत–जावत उस्तै छ । यसैले संक्रमितको अवस्थामा कमी आएको देखिँदैन’, उनले ग्रामीण खबरसँग भने, ‘फेरि संक्रमित वा लक्षण देखिएकाहरू नखुल्दा संक्रमितको अनुपात बढिरहेको अवस्था छ । पुष्टि भएकाहरु पनि पालिकामा जानकारी नगराई घरमै वा निजी क्लिनिकमा उपचार गराइरहेका छन् । यसले थप जोखिम निम्त्याउँछ ।’
केही दिनअघि मात्र देवानगञ्ज–२ का एकजनाको निजी क्लिनिकको भर पर्दा ज्यान गएको थियो । पालिकासँग समन्वय नगरी पिसिआर परीक्षण नगराई औषधि सेवन गर्दै होम आइसोलेसनमा थिए ।
श्वासप्रस्वासमा कठिनाइ भएपछि अस्पताल लगिए पनि पिसिआर रिपोर्ट नभएका कारण अस्पतालले भर्ना नलिँदा ज्यान गएको थियो । यसै घटनालाई मध्यनजर गरी पालिकाले अब निजी क्लिनिकले संक्रमित वा लक्षण देखिएका व्यक्तिलाई उपचार गर्दा नियमित प्रतिवेदन दिई स्वास्थ्य शाखासँग समन्वय गर्नुपर्ने निर्णय गरेको हो ।
‘बैठक सकारात्मक देखिएको छ । मंगलबार यस्तो निर्णय गरेपछि नै केही मानिस सम्पर्कमा आएका छन् । अबको सात दिनभित्र सबै संक्रमितलाई सम्पर्कमा आउनेगरी काम गर्नेछौँ । यसले गर्दा संक्रमितको ज्यानको जोखिम कम हुन्छ’, उनले थपे ।




