देवानगञ्ज, ६ जेठ । सुनसरीको देवानगञ्ज गाउँपालिकाका कोरोना संक्रमितको विराटनगरस्थित नोबेल मेडिकल शिक्षण अस्पतालमा मृत्यु भएको छ । देवानगञ्ज–६ घर भएका ५० वर्षीय पुरुषको नोबेलमा उपचारको क्रममा मृत्यु भएको देवानगञ्ज गाउँपाकिाका स्वास्थ्य शाखा प्रमुख उमेशकुमार मेहताले जानकारी दिए । उनको बुधबार राति ९ बजेतिर भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएको मेहताले जानकारी दिए ।
अघिल्लो सोमबार कोभिड–१९ पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए । इमर्जेन्सीको भेन्टिलेटरमा उपचाररत उनको स्वास्थ्यमा सुधार आएपछि मङ्गलबार पिसिआर परीक्षण गरिएको थियो ।
पिसिआर नेगेटिभ आएपछि चिकित्सकले जेनेरल वार्डमा सार्न सुझाव दिएका थिए । बाहिरको भेन्टिलेटर खाली नभएपछि कोभिडको भेन्टिेलरमा राखेर उपचार जारी थियो । तर त्यसको २४ घण्टा नबित्दै उनको मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख यादवले जनाए । उनका अनुसार मृतकका श्रीमती र छोरा नै स्वास्थ्यर्की हुन् । उनीहरूको कोरोना रिपोर्ट आउन बाँकी रहेकाे छ ।
मृतकका आफन्तले सीमित सङ्ख्यामा रहेर स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी बिहीबार बिहान मृतकको दाहसंस्कार गरेका छन् ।




