
विराटनगर, १० जेठ । कोरोना महामारीको दोस्रो लहर सुरु भएयता मोरङमा संक्रमितको संख्या नौ हजार पुग्न लागेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले आइतबारसम्म मोरङमा ८ हजार ९६६ जनमा संक्रमण पुष्टि भएको छ । जसमध्ये १ हजार ५३१ संक्रमणमुक्त भएका छन् । आइतबार मात्र मोरङमा ४१५ संक्रमित फेला परेका थिए ।
मोरङमा कोरानाबाट सबैभन्दा प्रभावित विराटनगर महानगरपालिका रहेको छ । विराटनगरमा हालसम्म ६ हजार ५४६ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये १ हजार १६० संक्रमित निको भएका छन् भने ७४ जनाको मृत्यु भएको छ ।
यस्तै विराटनगरपछि सबैभन्दा प्रभावित स्थानीय तहको सूचीमा सुन्दरहरैँचा नगरपालिका छ । सुन्दरहरैँचामा हालसम्म ५९८ जनामा कोरोना पुष्टि भएको छ भने १२ जनाले ज्यान गुमाएका छन् । २५ जना निको भइसकेका छन् । त्यसपछि बेलबारी नगरपालिकामा धेरै जनामा कोरोना पुुष्टि भएको छ । बेलबारीमा २५२ संक्रमित फेला पर्दा ८ जनाको मृत्यु भएको छ भने १४ जना निको भएका छन् ।
यस्तै, उर्लाबारीमा २२६ संक्रमित भेटिँदा १५ जनाको मृत्यु भएको छ भने ८० जना निको भइसकेका छन् । रंगेलीमा जम्मा १९६ जनामा संक्रमण पुष्टि भएको छ भने ३७ जना निको भएका छन् । रंगेलीमा तीन जनाको कोरोनाबाट ज्यान गएको छ ।