देवानगञ्ज, १२ जेठ । सुनसरीको देवानगञ्ज गाउँपालिकाका दुईवटा वडा सिल गरिएको छ । बुधबार बसेको विपद व्यवस्थापन समितिको बैठकले देवानगञ्जको २ नम्बर वडा र ६ नम्बर वडा सिल गर्ने निर्णय भएको देवानगञ्ज गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा कोभिड फोकल पर्सनल उमेशकुमार मेहताले जानकारी दिए ।
उनका अनुसार कोरोना संक्रमितको संख्या बढ्नेक्रम कायमै रहेका बढ्दो संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि ती दुई वडा सिल गर्ने निर्णय गरिएको हो । देवानगञ्ज गाउँपालिकामा बसेको सर्वदलीय बैठकले समेत उक्त निर्णयलाई कार्यान्वयन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चूडामणि गुरागाईले जानकारी दिए ।

स्वास्थ्य शाखा प्रमुख मेहताका अनुसार वडा नं ६ मा सक्रिय संक्रमितको संख्या ८० रहेको छ भने २ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । यता, २ नम्बर वडामा २८ जना संक्रमित छन् भने एक जनाको कोरोना कारण ज्यान गएको आशंका गरिएको छ । श्वासप्रस्वासकै समस्याका कारण उनको मृत्यु भएपनि कोरोना पुष्टि हुन बाँकी रहेको थियो ।
देवानगञ्ज गाउँपालिकामा १३६ जना संक्रमित छन् भने पाँच जना कोरोनामुक्त भइसकेका छन् ।




