विराटनगर, १३ जेठ । मोरङ–सुनसरी औधोगिक क्षेत्रमा उद्योधन्दा चलाइरहेका तथा व्यापार व्यवसायमा संलग्न चारवटा औद्योगिक तथा व्यापारिक संस्थाहरूले निजी क्षेत्रलाई कोरोनाविरुद्धको खोप खरिदका लागि अनुमति दिन माग गरेका छन् । बुधबार विज्ञप्ति जारी गर्दै चारवटा औद्योगिक तथा व्यापारिक संस्थाहरूले निजी क्षेत्रलाई खोप खरिदका लागि अनुमति दिएर खोपको सहजकता गर्न सरकारलाई आग्रह गरेका हुन् ।
नेपाल उद्योग परिसंघ प्रदेश १ तदर्थ समितिका अध्यक्ष भीम घिमिरे, विराट व्यापार सङ्घका अध्यक्ष सुजन थापा, मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडा र उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले संयुक्त विज्ञप्तिमार्फत निषेधाज्ञा र बन्दाबन्दीले आर्थिक एवं उद्योग व्यवसाय क्षेत्रमा परेको नकारात्मक असर अन्त्यका लागि खोप एकमात्रै विकल्प भएको बताएका हुन् ।
उद्योग प्रतिष्ठानमा कार्यरत कामदार, कर्मचारी र मजदुरहरूले खोप लगाउन नपाएका कारण उद्योगधन्दाहरु नियमित रूपमा सञ्चालन गर्न कठिनाई भएको भन्दै उनीहरूले यस्तो माग गरेका हुन् । उनीहरूले आम सर्वसाधारणलाई समेत सहज रूपमा खोप लगाउन पाउने वातावरण तयार गर्न खोप आयातको अनुमति नीजि क्षेत्रलाई प्रदान गर्न माग गरेका छन् ।
उनीहरूले गत वैशाख २५ गते प्रधानमन्त्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री, अर्थमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, प्रदेश १ का मूख्यमन्त्री समक्ष आफ्ना मागहरूबारे अवगत गराएको विज्ञप्तिमा उल्लेख छ । तर हालसम्म पनि ती विषयमा उचित सम्बोधन नभएको भन्दै गम्भीर ध्यानाकर्षण गराउन चाहेको बताए ।





