२०८२ कार्तिक १७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १७ जेठ । अक्सिजनको चरम अभाव भएका कारण प्रदेश नं १ का अस्पतालहरूले कोरोना सङ्क्रमितलाई भर्ना लिन छोडेका छन् । ठूलो सङ्ख्यामा सङ्क्रमितको उपचार गराइरहेको मोरङका विराट मेडिकल शिक्षण अस्पतालले बिरामी भर्ना लिन छोडेको छ ।

विराट अस्पतालका कोभिड फोकल पर्सन सुनिल देवले अक्सिजनको चरम अभावका कारण आजदेखि बिरामी भर्ना लिन छोडेको जानकारी दिए । यस्तै विराटले अक्सिजन आपूर्ति सहज बनाउन प्रदेश सरकार जिल्ला प्रशासन कार्यालय, नागरिक समाजका साथै सम्बद्ध सबै पक्षको ध्यानाकर्षण गराएको छ ।

अस्पतालले अक्सिजनको आपूर्तिमा ढिलाइ भए बिरामीको अवस्था जटिल हुन गई भयावह स्थिति उत्पन्न हुनसक्ने उल्लेख गरेको छ । अस्पतालका प्रशासन प्रमुख सन्तोष निरौलाले विज्ञप्ति जारी गर्दै अक्सिजन उद्योगबाट अक्सिजन आपूर्ति गर्न एक दुई घण्टा मात्र ढिलाइ भएपनि धेरै बिरामीको ज्यान जानसक्ने बताइएको छ ।

अक्सिजन अभावकै कारण अस्पतालमा हालसम्म कुनै बिरामीको ज्यान नगएको समेत अस्पतालले प्रष्ट पारेको छ । अस्पतालका कोभिड उपचार केन्द्र प्रमुख सुनिल देवले अक्सिजन अभावका कारण नयाँ बिरामी भर्ना लिन समस्या भएको जानकारी दिए । अस्पतालले कोरोना संक्रमितको उपचारका लागि तीन सय शैया छुट्याएको उनको भनाइ छ ।

यता, अस्पतालका कोरोना फोकल पर्सन देवले ग्रामीण खबरसँग भने, ‘अक्सिजनको अभाव छ । अस्पतालले ल्याउने उद्योगमै अक्सिजन छैन । लामो लाइन बसेर पनि पाउने–नपाउने टुङ्गो छैन । उद्योगले प्रदेशबाहिरका लागि पनि दिनुपर्ने बाध्यता छ यसैले पनि बरामी भर्ना लिन छोडेका हौँ ।’

अहिले विराट अस्पतालले बाजुरत्ना र मारुतिबाट अक्सिजन आपूर्ति गर्छ । त्यसबाहेक दुवै उद्योगमा सकिएको खण्डमा विनायक अक्सिजन उद्योगसँग समन्वय गर्छ । प्रदेशमा अभाव हुने अवस्था आइरहँदा पनि प्रदेश नं २ तिर निर्यात हुने भएका कारण पनि मोरङका अस्पतालमा अभाव भएको देवको भनाइ छ । प्रदेश सरकार र अक्सिजन उद्योगले अभाव नभएको दाबी गरिरहँदा अस्पतालले भने अभाव भोगिरहेको उनले बताए ।

अहिले विराटमा अस्पतालमा दैनिक ३२५ सिलिन्डर अक्सिजन खपत हुन्छ । सबैभन्दा बढी ३०० सङ्क्रमितको उपचार गर्ने भएका कारण पनि अक्सिजन धेरै खपत हुने उनले बताए । ननकोभिडतर्फ पनि उत्तिकै अक्सिजन खपत हुने बताउँदै उनले अक्सिजन प्लान्ट बढाउनुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!