
काठमाडौँ, १९ जेठ । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले अबको दुई वर्षभित्र मुलुक दुध उत्पादनमा आत्मनिर्भर बन्ने बताएकी छन् । विश्व दूध दिवसको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले मङ्गलबार आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।
हाम्रो प्राणको सुरुवात दूधबाट भएको भन्दै उनले अबको दुई वर्ष भित्र दूधमा आत्मनिर्भर बन्ने बताइन् । उनले भनिन्, ‘अबको दुई वर्षभित्र हामी दूधमा आत्मनिर्भर बन्छौँ । प्रति व्यक्ति ११ लिटर दूध अपुगको अहिलेको अवस्थालाई दुई वर्षभित्र पुरा गछौं ।’
मन्त्री अर्यालले दुग्ध र डेरी क्षेत्रलाई प्रोत्साहित गर्ने गरी बजेट ल्याएको समेत बताइन् । दुग्ध क्षेत्रमा भएका तमाम समस्या समाधानतर्फ मन्त्रालय लागिरहेको भन्दै उनले दुध उत्पादन बढाउने र बजारीकरण गर्ने कार्यतर्फ मन्त्रालय लागिपरेको समेत बताइन् । उनले भनिन्, ‘दुग्ध क्षेत्रमा भएका समस्या समाधानतर्फ हामी लागिरहेका छौ । ती समस्या समाधान भएनन् भने दूध दिवस मनाएको कुनै औचित्य हुनेछैन ।’