विराटनगर, १९ जेठ । विराटनगरमा मंगलबार राति एक स्वास्थ्यकर्मी प्रहरीबाट कुटिएका छन् । मंगलबार राति ९ बजे ड्युटि सकेर घर फर्कने क्रममा कोशी अस्पतालमा कार्यरत सिनियर अहेब अशोक राजवंशी कुटिएका हुन् । मोटरसाइकलमार्फत घर जाँदै गरेका उनमाथि विराटनगरस्थित देवकोटा चोकमा ड्युटीमा खटिएका प्रहरीले लाठी चार्ज गरेका हुन् ।
घर फर्कँदै गर्दा देवकोटा चोकमा प्रहरीले रोकेको र खुट्टा तथा ढाडमा लाठीले हानेकाे उनले बताएका छन् । गल्तीबिना पनि आफूमाथि कुटपिट भएको बताउँदै उनलृ आफू स्वास्थ्यकर्मी भएको जानकारी गराउँदा पनि रातको समयमा हिँड्ने भन्दै कुटपिट गरेको उनको भनाइ छ ।
कोसी अस्पतालका मेसु डा. चुमनलाल दासले जानकारी दिए । उनका अनुसार कोसी अस्पतालमा ड्युटी पूरा गरेपछि घर जाँदै गर्दा प्रहरीले उनीमाथि एक्कासि कुटपिट गरेका हुन् । कुटपिटबाट राजवंशीको खुट्टा र घुँडामा चोटपटक लागेको छ ।
‘घर फर्किनेक्रममा उहाँले चलाएको मोटरसाइकल रोकेर प्रहरीले कुटपिट गरेका रहेछन्’, उनले ग्रामीण खबरसँग भने, ‘प्रहरीले उहाँमाथि हातमा र तिघ्रामा भाटाले कुटेका रहेछन् । अहिले एसपीसँग कुरा भएको छ । कारवाही गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।’
कुटाइबाट उनको घुडाका भागमा चोट लागेको छ । यस विषयमा थप अनुसन्धान गरी कुटपिट गर्ने प्रहरीलाई कार्वाहि गरिने मोरङ प्रहरीका प्रमुख एसपी सन्तोस खड्काले बताएका छन् ।
यो घटना लगत्तै बुधबार दिउसो अस्पताल परिसरमा कोशी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट भएको भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । नेपाल चिकित्सक संघ कोशीको अगुवाईमा भएको आन्दोलनमा चिकित्सक तथा स्वास्थ्यकर्मीले सुरक्षाको माग गरिएको छ ।




