
विराटनगर, २४ जेठ । प्रदेश १ नेपाली काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले सरकार सदन छलेर मनमौजी रुपमा चल्न थालेको आरोप लगाएका छन् । सोमबार आठौँ तथा बजेट अधिवेशनको पहिलो बैठकका क्रममा उनले सरकारले सदनलाई लामो समय उपेक्षा गरेको भन्दै प्रदेशमा यतिधेरै समस्या आउँदा पनि सरकार सदन छलेर मनमौजी रूपमा चल्न थालेको बताए ।
सरकार नै सदन बहिष्कार गर्ने जस्तो असंसदीय हर्कत प्रदेशमा देखिएको बताउँदै उनले प्रदेशसभा निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्रमा जनतासँग भोट माग्दै गर्दा, जनतासामु गरेका प्रतिवद्धता सरकारको कारण पुरा नहुने अवस्था आएको बताए ।
सरकारले बजेटमा विनियोजन गरेको रकमसमेत उपलब्ध नगराएको भन्दै उनले रातो कितामा भएका योजनाको रकम कहाँ गयो भन्ने जवाफ दिनुपर्ने बताए । प्रदेश सरकारले कोरोना महामारी नियन्त्रणमा काम गर्न नसकेको बताउँदै उनले संघिय सरकारले लिएको ढुङ्गा गिटी बेच्ने गलत नीति सच्याउन माग गरे ।
ढुंगागिटी विदेश निर्यात गर्ने विषयमा प्रदेश २ सरकारले बोलेको प्रसङ्ग उल्लेख गर्दै उनले प्रदेश १ ले पनि बोल्नु पर्ने बताए ।