विराटनगर, २९ जेठ । सुनसरीको इटहरीमा करेन्ट लगाएर माछा मार्नेक्रममा दम्पत्तिको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–२० मा रहेको खर्साला खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर २५ वर्षीय हेमशर राई र उनकी पत्नी २२ वर्षीया शर्मिला राईको मृत्यु भएको हो ।
शुक्रबार राति माछा मार्ने विद्युतीय धराप लिएर नजिकैको खोलामा गएका बेला करेन्ट लागेर दम्पतीको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।
तरहराको चौतारी चौकमा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैँलाई करेन्ट लाग्दा दुवैको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले जानकारी दिए । शनिबार बिहान ६ बजे स्थानीयले घर नजिकै खार्सल खोलामा मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयले खबर दिएलगत्तै इलाका प्रहरी कार्यालय इटहरी र प्रहरी चौकी तरहराबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनास्थलमा उनीहरूले आफू बसेको घरबाट बिजुलीको लाइन जोडी खोलामा लगेको भेटिएको थियो ।
उनका अनुसार उनीहरू फनिर्चर उद्योगमा काम गर्दै आएका थिए । उदयपुर रौतामाई घर भएका उनीहरू चौतारी चोकमा कोठा भाडामा बस्दै आएका थिए । कोठामा उनीहरूको चार वर्षीया छोरी मात्र रहेकोले बिहान मात्र घटनाको बारेमा जानकारी पाइएको केसीले बताए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।




