२०८३ जेष्ठ २५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, जेठ ३० गते । अबको एक साता नेपालको आकाशमा घाम नलाग्ने भएको छ । नेपालमा यस वर्षको मनसुन सुरु भएसँगै यो देशभर फैलने क्रममा रहेको छ । बङ्गालको खाडीबाट भारत हुँदै पूर्वी भेगबाट नेपाल प्रवेश गरेको मनसुनी बादलले आकाश ढाकेका कारण अबको एक साता घाम देख्न नपाइने भएको हो ।

मौसमविद् वरुण पौडेलले भने, “देशव्यापी रूपमा फैलने क्रममा मनसुनको सक्रियता बढेको छ, त्यसैले एक साताको अवधिमा आकाशको घाम देख्न मुस्किल हुनेछ” उनका अनुसार कहीँकतै आक्कलझुक्कल घाम देखिहाले पनि त्यो एकदमै थोरै समयका लागि देखिने छ । मौसम पूर्वानुमान महाशाखाले मनसुन विशेष बुलेटिनमार्फत नै शनिबारदेखि गण्डकी तथा लुम्बिनी प्रदेशको पूर्वी भागसम्म मनसुन प्रवेश गरिसेकेको जनाएको छ । एक–दुई दिनभित्र देशव्यापी रूपमा मनसुनले प्रभाव जनाउने भएकाले पनि आकाश खुल्ने सम्भावना छैन ।

मनसुनको सक्रियता थप बढेमा अझै लामो समय निरन्तर वर्षा हुने सम्भावना बलियो रहेको जनाइएको छ । आइतबारदेखिको एक साता मनसुन तीव्र सक्रिय भएर देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षाका साथै थोरै स्थानमा अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागले शनिबार प्रेस वक्तव्य जारी गर्दै शुक्रबारदेखि नेपाल प्रवेश गरेको मनसुनी वर्षाको अवधिभर कतै अधिक र कतै मध्यम वर्षा हुने जनाएको छ । विभागका प्रवक्ता सुमनकुमार रेग्मीका अनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती प्रदेशका अधिकांश स्थानमा र प्रदेश १ को मध्य तथा पश्चिमी पहाडी र हिमाली भेगमा सरदरभन्दा बढी वर्षा हुनेछ ।

त्यस्तै गण्डकी, लुम्बिनी, बागमती प्रदेशको तराई र प्रदेश २ को पश्चिमी भू–भागमा सरदर वर्षा हुनेछ । त्यसैगरी प्रदेश १ को तराई र प्रदेश २ को पूर्वी भेगमा सरदरभन्दा कम वर्षा हुनेछ । निरन्तर हुने वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्ने सम्भावना रहेकाले सतर्क रहन विभागले आग्रह गरेको छ । आउँदा केही दिनमा ठूला तथा मझौला नदीहरूमा जलप्रवाह उल्लेख्य रूपमा बढ्ने तथा साना नदीनाला र खहरे खोलाहरूमा आकस्मिक बहाव भई चुरे तथा तराईका भू–भाग डुबानमा पर्ने सम्भावना रहेको छ । मनसुन अवधिभरका लागि विभागले मौसमको निगरानीलाई चुस्त बनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!