तनहुँ, ३१ जेठ । तनहुँकी एक बालिका आमाको काखमा भएकाले मृत्युको मुखमा पुगेर पनि बाँच्न सफल भएकी छन् । घरभित्रै पसेर काखैबाट नरभक्षी चितुवाले आक्रमण गरी बालिका लगेपनि आमाको साहसिक कदमले गर्दा व्यास नगरपालिका–१२ पालिङ,देउरालीकी साढे दुइ वर्षकी बालिका अनुष्का परियारको ज्यान बचेको हो ।
बालिकाको आमा मधु परियारले चितुवासँग लडेर छोरीलाई खोसेर उद्धार गर्न सफल भएकी हुन् । आइतबार साँझ घरभित्र बीचमा बसेर खाना खाईरहेकै बेला छोरीलाई आक्रमण गरी घिसारेर चार कान्लामुनी करिब ३० मिटर तल मिटर पुर्याएको चितुवासँग लडेर छोरीलाई बचाइन् ।
आमाको साहसिक कदम र स्थानीयको मद्दत गर्दा बालिकाको जीवन बचाउन सकिएको स्थानीय बासिन्दाले बताएका छन् । मधुसँग चितुवको भिडन्त भइरहेको बेला घर माथीका कुमार गुरुङले चितुवाले लगेको बाटोलाई छेकेर काट्दै चितुवा भएको ठाउँमा पुगेपछि बच्चा छोडेर भागेको स्थानीय बासिन्दा तथा साविक घाँसीकुवा गाविसका अध्यक्ष श्यामकृष्ण लोहोनीले जानकारी दिए ।
साँझ परेकोले घरभित्र बसेर बीचमा छोरीलाई राखेर खाना पस्किदै थिएँ खानातिर हात बढाउँदा चितुवाले आक्रमण गरेर लगेको हिक्मत गरेर गुहार माग्दै पछिपछि लागेर चितुवाको मुखबाट खोसेर ल्याएको मधुले बताइन् ।
बाँदरै लड्ने जस्तो भिरालो ठाउँमा दौडिदै, कान्लाबाट हामफाल्दै छोरीलाई चितुवाको मुखबाट तानेर बचाएको प्रत्यक्षदर्शी सुनसरी गुरुङले बताए । ‘आमा पछि नलागेको भए बच्चालाई चितुवाले मार्ने थियो साहसिक कार्य देखेर गाउँवासी चकित परेको सो ठाउँ निवासी शारदा कौड्यालले बताइन् । चितुवाको आक्रमणमा परी घाइते अनुष्काको सदरमुकाम दमौलीस्थित दमौली अस्पतालमा उपचार भइरहेको छ । चितुवाले बालिकाको चिउँडोमा दुई वटा, घाँटी नजिक एक स्थानमा नङ्ग्रा गाडेर घाइते बनाएको उपचारमा सलग्न दमौली अस्पतालकी अहेब रामकला पन्थले बताइन् ।




