उदयपुर । उदयपुरमा अवैध हतियारसहित जनता समाजवादी पार्टी (जसपा)का एक नेतालाई प्रहरीले बुधवार राती पक्राउ गरेको छ । पक्राउ पर्नेमा जसपाका उदयपुर जिल्ला सदस्य त्रियुगा नगरपालिका ३ मोतिगडा बस्ने बर्ष ५० को पर्शुराम चौधरी रहेका छन् । उनलाई बिहीबार जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलन गरी पेस्तोलसहित प्रहरीले सार्वजनिक गरेको थियो । गोप्य सूचनाका आधारमा जिप्रकाबाट खटिएको प्रहरीको विशेष टोलीले उनलाई ९ एमएममा लाग्ने ५ थान गोली र चन्दाका रसिदसहित पक्राउ गरिएको एसपी भिमबहादुर दाहालले बताए ।
प्रहरीले उनको पेस्तोल, गोली, अखिल नेपाल ट्रेड युनियन महासङ्घ लेखिएको ८ ठेली सहयोग रसिद, नेकपा माओवादी केन्द्र लेखिएको तीन थान सदस्यता र अखिल नेपाल निर्माण मजदुर सङ्घ लेखिएको ८५ थान सदस्यता पत्र बरामद गरेको जनाएको छ । एसपी दाहालका अनुसार कान्छी श्रीमतीको छोरी र सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका ८ बस्ने एक युवा बिचको प्रेम सम्बन्ध बुबा चौधरीले मन पराएका थिएनन् ।
त्यहीँ सम्बन्ध तोड्न उनले छोरीको केटा साथीलाई फसाउने योजना अनुरूप युवा आएको मौका छोपी कान्छी श्रीमतीको घरमा पेस्तोल राखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी दाहालको भनाई छ । यसअघि उनी द्धन्द्धकालमा नेकपा माओवादीको लडाकु र त्यसपछि पार्टीको जिल्ला कमिटी सदस्य तथा भ्रातृ सङ्गठन मजदुर सङ्घको जिल्ला संयोजक रहेको खुलेको छ । उनी २०७७ माघ ४ गते जसमामा प्रवेश गरी सोही पार्टीको जिल्ला सदस्य रहेको खुलेको छ ।
पक्राउ परेका चौधरीलाई अवैध हातहतियार तथा खरखजना ऐन अन्तर्गत मुद्दा दर्ता गरिने एसपी दाहालले बताए । यसैविच प्रहरीको प्रारम्भिक अनुसन्धानबाट द्वन्द्वको बेला अवशेषका रुपमा अझै पनि हतियार रहेको देखाएको छ । ‘सदरमुकाम गाईघाटमै द्धन्द्धकालिन हतियार देखिनुले त्यस बेलाका सबै हतियार राज्यलाई नबुझाएको देखिन्छ, एसपी दाहालले भने, ‘समायोजनका बेला पनि सबै हतियार नबुझाएको देखिएकाले हामी थप अनुसन्धानमा जुटेका छौ ।




