विराटनगर / मोरङको रंगेलीमा टिपरले ठक्कर दिँदा मंगलबार बिहान मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रतुवामाई नगरपालिका–६ सौंठाका ४२ वर्षीय तिलकराज खड्का रहेका छन् ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठका अनुसार रंगेली नगरपालिका–७ स्थित रंगेली बजारमा भएको दुर्घटनामा उनको मृत्यु भएको हो । खड्काले चलाएको प्र १–०२–०४३ प ८०११ नम्बरको मोटरसाइकललाई पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ४ ख ३४९३ नम्बरको टिपरले ठक्कर दिँदा दुर्घटना भएको हो ।
बिहान ९ः१५ बजेतिर भएको दुर्घटनामा परेर खड्का गम्भीर घाइते भएका थिए । खड्काको उपचारका लागि रंगेली अस्पताल पुर्याउनसाथ मृत्यु भएको हो । प्रहरीले टिपर र चालक मोरङको धनपालथान गाउँपालिका–६ का ३९ वर्षीय विद्यसागर रायलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ ।




