२०८३ जेष्ठ २५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               
अरुणा उप्रेती
फर्सीका बियाँ, आलस, भाङो, सूर्यमुखी फूलका बियाँ, तिल आदि हामीकहाँ प्रशस्तै पाइन्छन् तर यसमा रहेको पौष्टिकताबारे कतिलाई थाहा छ ? भाङको छोप बनाएर अचार धेरैले खान्छन् । भाङको बीउमा रहेको प्रोटिन उच्च स्तरको हुुन्छ । यसमा पर्याप्त मात्रामा रेशादार तत्व हुुन्छ, खाना पचाउन पनि मदत गर्छ।
यसमा रहेको ओमेगा ३ फ्याटी एसिडले स्वास्थ्यमा लाभ पुर्याउँछ । ओमेगा ३ को महँगो क्याप्सुुल किनेर खानै पर्दैन् । विभिन्न अध्ययनहरुले भाङका दाना खाए रक्त सञ्चालन र मुटु स्वस्थ राख्न मदत गर्छ भन्ने उल्लेख गरेका छन् । त्यसैगरी बाथरोगीलाई पनि फाइदा गर्छ भनिएको छ।
यसलाई भुुटेर, पिसेर, सलादमा वा तरकारीमा हालेर खान सकिन्छ । मैले चाहिँ प्रत्येक दिन आलस, तिल, भाङ एक चम्चा खान्छु । क्याल्सियम चक्की खान्न, खानै पर्दैन।
बजारमा भाङको तेल पनि पाइन्छ । कतिजनाले भाङको बीउ खायो भने भाङको नशा लागे जस्तै हुुन्छ भन्ने गर्छन् तर यसको बीउले नशा भने लाग्दैन ।
त्यस्तै अर्को हो, फर्सीको बियाँ । कतिले भुटेर, कतिले दिउल निकालेर काँचै खान्छन् । धेरैका घरमा भने वास्ता नगरिएकै खाद्य वस्तु हो । फर्सीको बियाँमा लुुकेको सूक्ष्म पौष्टिक तत्वबारे थाहा नपाइ खाए पनि विभिन्न किसिमका महँगा भिटामिनहरु किनेर खानै पर्दैन । फर्सीका बियाँ प्रायः फालिन्छन् तर तिनको महत्व थाहा पाएकाहरुले भने भान्छामा जतन गरेरै राख्छन् ।
पहिले पहिले बुढाबुढीहरुले फर्सीको बियाँ सुकाएर राख्थे । धेरैले त्यसको बाहिरी पत्र छोडाएर दिउल मात्रै खान्छन् । कतिले चाहिँ बाहिरको बोक्रै समेत भुट्छन् र छोपका रुपमा समेत प्रयोग गर्छन् । दिउल मात्र खाए जस्तो मिठो स्वाद नभए पनि साह्रै पोषणयुक्त हुन्छ । पहाडतिर दूध, च्यूरा र दहीसँग फर्सीको दिउल मिसाएर पनि खान्छन् । कसैले यसलाई पिसेर सलाद वा सुपमा पनि हाल्छन् । यसमा प्रशस्त मात्रामा जिंक पनि पाइन्छ । सूूर्यमुुखीको फूूलको सुन्दरता देखेर हामी खुशी हुन्छौं तर यसको बीउ पनि स्वास्थ्यबर्धक छ भन्ने विचार शायदै आउँछ । सूूर्यमुुखी तेल अहिले कति जनाले प्रयोग गर्छन् तर तेल निकाल्ने बीउको चाहिँ वास्ता गरिएको पाइँदैन ।
युुरोपका विभिन्न देशमा जाँदा सूूर्यमुुखीको बीउबाट बनाइएको मिठाइ चाहिँ मैले खाएको छु । अब कुरो आयो ‘के छ त सूूर्यमुुखीको बीउमा त्यस्तो विशेष ।’
यसमा भिटामिन ‘इ’ हुुन्छ, यसले मुुटु स्वस्थ राख्छ । त्यसमा पाइने म्याग्नेशियम नामक तत्वले मांसपेशी र हड्डीको स्वास्थ्य राम्रो राख्छ पहिले आलस अपहेलित थियो । अहिले धेरैले प्रयोग गर्न थालेका छन् । अहिले त यो क्याल्सियम, ओमेगा ३, रेशादार पदार्थको राम्रो स्रोत हो भन्ने बुझाइ छ ।
आलसमा अर्को महत्वपूर्ण पौष्टिक तत्व लिगनेन हुन्छ । लिगनेन एन्टिवायरल, एन्टिफङ्गल र क्यान्सर विरोधी हुन्छ । साथै यसले रोगप्रतिरोधात्मक क्षमता पनि बढाउँछ । लिगनेनले कोलेस्ट्रोल घटाउँछ र ब्लड सुगरलाई नियन्त्रणमा राख्छ । मासिक धर्म सम्बन्धी अनियमिततालाई पनि ठीक गर्छ । विशेष गरी महिलाहरूको महिनावारी सुकेपछि हाडको घनत्व कम हुँदै जाने समस्या कम गर्न आलसको सेवन राम्रो मानिन्छ । यसलाई छोप बनाएर खान सकिन्छ । भुटेर दानै सलादमा हाल्न पनि सकिन्छ । दहीमा घोलेर प्रयोग गर्न सकिन्छ । जसरी प्रयोग गर्दा पनि हुन्छ तर राम्रोसँग चपाएर खानुपर्छ ।
यसबाहेक हामीकहाँ सिलाम, तील, फिलिंगो, कुभिण्डोको बियाँ आदि धेरै कुरा छन् । यस्ता पौष्टिक तत्व भएका बियाँ वा दिउलहरुबारे खोजी गर्ने र जतन गरेर उपयोग गर्ने सीपको भने अभाव छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!