 
							मोरङमा खुकुलो बनाउँदै पुनः एकसाता निषेधाज्ञा थप भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालयले असार २१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञा थप भएपनि अब जोर-बिजोर प्रणालीमा यातायात सञ्चालन हुनेछन् । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलका अनुसार जोर–विजोरका आधारमा भोलिबाट यातायात सञ्चालन हुनेछन् ।
जोर बार जोर नम्बर भएको र विजोर बार विजोर नम्बर भएको गाडी सञ्चालन गर्न दिने निर्णय भएको पोखेरेलले जानकारी दिए । ‘सङ्क्रमणको जोखिम कायमै रहेका कारण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर जोर–विजोर प्रणालीमा यातायात सञ्चालन गर्न पाइने छ’, उनले भने ।
यस्तै, बजार पसल पनि १२ बजेबाट बढाएर दिउँसो ४ बजेसम्म खुल्न दिने निर्णय भएको उनले जानकारी दिए । अब भने सैलुन पनि खुल्नेछन् । तर, होटल, रेष्टुरेन्ट तथा हटिया भने खुल्ला नहुने उनको भनाइ छ ।
असार ७ गते थप गरिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदै थियो ।


 
										 
												 
												 
												 
												 
												 
												
 
											 
											
