विराटनगर, १४ असार । सुनसरीमा असार १५ गतेदेखि लागू हुनेगरी पुनः एक साताका लागि निषेधाज्ञा थपिएको छ । सोमबार बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले भोलि राति १२ बजेदेखि लागू हुनेगरी असार २२ गते मध्यरात १२ बजे सम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।
उनका अनुसार केही खुकुलो प्रावधानसहित जिल्लाभर निषेधाज्ञा थपिएको हो । अब सुनसरीमा सञ्चालित कृषि थोक बजार बिहान ४ बजेदेखि बिहान १० बजे सम्म सञ्चालन गर्न पाइने भएको छ । तथापि, ब्यूटि पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखान, आदि सञ्चालन गर्न पाइने छैन ।
सार्वजिनक एवं निजी सवारी साधन सञ्चालनको हकमा भने निजी सवारी साधन, सिटी सफारी (दुई पाङ्ग्रे चार पाङ्ग्रे) ई–रिक्सा समेत मिति २२ गते राति १२ः०० बजेसम्म सुनसरी जिल्लाभर जोर बिजोर प्रणाली (जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर) अनुसार सञ्चालन गर्न पाइने भएको छ । सार्वजनिक यातायात भने सञ्चालन गर्न नपाइने उनले जानकारी दिए ।





