 
							बेलबारी । बेलबारी नगरपालिकाको नाममा देशका बिभिन्न स्थानमा रहेका होटल तथा रिसोर्टबाट धमाधम उधारो बिल भुत्तानीका लागि बिलसहितको पत्र आउन थालेको छ। बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित बिभिन्न वडाका वडाध्यक्ष समेत सहभागी १० जनाको टोलीले दोलखा जिल्लाको कुरी भिलेजस्थित मिराकल भ्यू रिसोर्टमा २०७७ चैत्र २१ गतेका दिन रिसोर्ट बसेको सहित खाएको गरेर १ रातको ७० हजार ६० रुपैयाको बिल भुत्तानीका लागि रिसोर्टले ०७५ नम्बरको बिल सहित पत्र बेलबारी नगरपालिकालाई पठाएको छ ।
बिलमा १० जना सहभागी भएको भ्रमणमा १८ वटा कोठा बुक भएको देखिन्छ । असार ४ गते होटलबाट बिलसहितको ताकेता–पत्र आएपछि नगरपालिकाले चुपचाप बिल तिरेको छ । बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप शाहले ७ दिनको भ्रमण भएपनि भ्रमण लम्बिएर १० दिनको भएका कारण रकम अपुग भएपछि बिल नतिरेको बताउँदै उनले केही दिनअघि मात्र बिल तिरिएको जानकारी दिए ।
उनले भ्रमणका क्रममा श्याम पाण्डे लगायतका ठेकेदारहरु समेत पाहुनाका रुपमा सहभागी भएपछि बढी कोठा बुक भएको बताए । यो भ्रमण नगरपालिकाको नै भएका कारण केही ब्यत्तिहरुले पुर्बाग्रह राखेर बदनाम गर्न अहिले यो प्रपञ्च रचेको उनले बताए ।
 
 


 
										 
												 
												 
												 
												 
												 
												
 
											 
											
