काठमाडाैँ । नेकपा (एमाले)ले काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठित सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । सरकारबाट बाहिरिएपछि पहिलो पटक बसेको एमाले स्थायी समिति बैठकले अलोकतान्त्रिक र अस्वस्थ प्रतिस्पर्धाबाट सरकार गठन भएको निष्कर्ष निकाल्दै विश्वासको मत नदिने निर्णय गरेको हो ।
शुुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकले सो निर्णय पालना गर्न पनि पार्टीका प्रतिनिधिसभाका सदस्यहरुलाई निर्देशन दिएको पनि पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । “अलोकतान्त्रिक र अस्वस्थ विधिबाट गठित सरकारलाई पार्टीको समर्थन र विश्वासको मत नदिने स्पष्ट पार्दै पार्टीका सबै प्रतिनिधिसभाका सदस्यहरुलाई यस निर्णयको पालना गर्न निर्देशन दिइएको छ,” उनले भने ।
मालेले देश र जनताको हितमा केन्द्रित भई सक्रिय एवम् रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने पनि स्पष्ट पारेको छ । बैठकले पार्टी भित्रका समस्या समाधानका लागि गठित कार्य दलले तयार पारेको १० बूँदे प्रस्तावलाई अनुमोदन गर्दै कार्य दल विघटन पनि गरेको छ । कार्य दलले तयार पारेको प्रस्तावलाई रचनात्मक र सृजनात्मक ढंगले कार्यान्वयन गर्ने गरी अनुमोदन गर्ने निर्णय पनि गरिएको प्रवक्ता ज्ञवालीले बताए ।




