काठमाडौं । देशभर ९७.८९ प्रतिशत धान साउन अन्तिम साता रोपाइँ सम्पन्न भएको कृषि विभागले जनाएको छ । गत वर्षको तुलनामा चार हजार हेक्टर क्षेत्रफलमा कमि भएको विभागका सूचना अधिकारी डा. महादेवप्रसाद पौडेलले जानकारी दिनुभयो ।
‘कुल हेक्टर क्षेत्रफलमध्ये चार हजार हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छैन,’ कृषि विभागका सूचना अधिकारी पौडेलले भन्नुभयो, ‘यसलाई धेरै फरक भन्न मिल्दैन, केही मात्राको फरक हो । गत वर्ष ९८.१९ प्रतिशत रोपाइँ भएको थियो भने यस वर्ष ९७.८९ भएको छ । गत वर्षकोभन्दा अघिल्लो वर्षहरुमा ९५ प्रतिशत मात्र हुन्थ्यो । यो हिसाबले यस वर्ष धान रोपाइँ धेरै भएको हो ।’
नेपालमा १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकामा साउन २८ गतेसम्म १३ लाख ४२ हजार ८१९.९४२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ । गत वर्ष १३ लाख ४६ हजार ९२० हेक्टर क्षेफलमा रोपाई सम्पन्न भएको थियो ।
कृषि मन्त्रालयल यस वर्ष ६० लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान गरेको उहाँले बताउनुभयो । गत आर्थिक वर्ष २०७७÷७८ मा ५६ लाख २१ हजार ७ सय १० टन धान उत्पादन भएको छ । विभागकाअनुसार अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।
कुन जिल्लामा कति रोपाइँ ?
ताप्लेजुङ्गमा ९९.५० प्रतिशत, संखुवासभामा ९८ प्रतिशत, सोलुखुम्बुमा १०० प्रतिशत, पाँचथरमा ९४ प्रतिशत, इलाममा ९१ प्रतिशत, भोजपुरमा ९० प्रतिशत, तेह्रथुममा ९१ प्रतिशत, धनकुटामा, ८८ प्रतिशत, उदयपुरमा ९७ प्रतिशत, ओखलढुङ्गामा, १०० प्रतिशत, खोटाङमा १०० प्रतिशत, झापामा ९८ प्रतिशत, मोरङमा ९८ प्रतिशत र सुनसरीमा ९८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ ।
त्यस्तै धनुषामा ९५ प्रतिशत, महोत्तरीमा ९८ प्रतिशत, सर्लाहीमा ९८ प्रतिशत, पर्सामा ९९ प्रतिशत, बारामा ९५ प्रतिशत, रौतहटमा ९२ प्रतिशत, सप्तरीमा ९८ प्रतिशत, सिराहामा ९९ प्रतिशत, दोलखामा ९९ प्रतिशत, रसुवामा ९९ प्रतिशत, सिन्धुपाल्चोकमा ९६ प्रतिशत, रामेछापमा ९८ प्रतिशत, सिन्धुलीमा ९८ प्रतिशत, धादिङमा ९८ प्रतिशत, नुवाकोटमा ९८ प्रतिशत, काभ्रेपलाञ्चोकमा ९८ प्रतिशत, काठमाडौंमा ९९ प्रतिशत, भक्तपुरमा ९९ प्रतिशत, ललितपुरमा ९९ प्रतिशत, मकवानपुरमा ९९ प्रतिशत र चितवनमा ९८ प्रतिशत रोपाइँ भइसकेको छ ।
मनाङ र मुस्ताङमा ० प्रतिशत, पर्वतमा १०० प्रतिशत, कास्कीमा ९८ प्रतिशत, गोरखामा ९६ प्रतिशत, म्याग्दीमा १०० प्रतिशत, स्याङ्जामा ९८ प्रतिशत, बाग्लुङमा १०० प्रतिशत, तनहुँमा ९६.७ प्रतिशत, लमजुङमा १०० प्रतिशत, नवलपुरमा १०० प्रतिशत, अर्घाखाँचीमा १०० प्रतिशत, गुल्मीमा ९६ प्रतिशत, रोल्पामा १०० प्रतिशत, रुकुम पूर्वमा ९८ प्रतिशत, पाल्पामा ९६.४१ प्रतिशत, प्यूठानमा ९६.५ प्रतिशत, नवलपरासीमा १०० प्रतिशत, कपिलवस्तुमा ९९ प्रतिशत, रुपन्देहीमा १०० प्रतिशत, बाँकेमा १०० प्रतिशत, बर्दियामा ९८ प्रतिशत र दाङमा ९८ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि विभागले जनाएको छ ।
यसैगरी जुम्लामा १०० प्रतिशत, कालीकोटमा १०० प्रतिशत, मुगुमा १०० प्रतिशत, डोल्पामा १०० प्रतिशत, हुम्लामा १०० प्रतिशत, सुर्खेतमा १०० प्रतिशत, दैलेखमा १०० प्रतिशत, रुकुम पश्चिममा १०० प्रतिशत, जाजरकोटमा १०० प्रतिशत, सल्यानमा १०० प्रतिशत, दार्चुलामा ९८ प्रतिशत, बझाङमा ९९ प्रतिशत, बाजुरामा ९५ प्रतिशत, डडेल्धुरामा ९८ प्रतिशत, डोटीमा ९७ प्रतिशत, बैतडीमा ९५ प्रतिशत, अछाममा ९७ प्रतिशत, कैलालीमा १०० प्रतिशत र कञ्चनपुरमा १०० प्रतिशत धान रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ ।
प्रदेश नम्बर १ मा ९६.८६ प्रतिशत रोपाइँ भएको विभागले जनाएको छ । प्रदेश १ मा दुई लाख ७५ हजार ९०१ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको विभागको तथ्याङ्क छ । जसमध्ये दुई लाख ६७ हजार १४९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । यही अवधिमा गत वर्ष ९५.८८ प्रतिशत रोपाइँ भएको थियो ।




