विराटनगर । आफ्नै छोरीलाई अपहरण गरी दुई जना युवकसँग जबरजस्ती करणी गराउन खोज्ने आमाले छोरीलाई मुद्दा फिर्ता लिन दबाब दिएकी छिन् । आमाविरूद्ध शरीर बन्धक तथा जबरजस्ती मुद्दा दिएकी पीडित छोरीले आफूलाई प्रलोभन दिदै मुद्दा फिर्ता लिन आमा र आमाकी दिदीले विभिन्न माध्यमबाट दबाब दिने गरेको बताइन् ।
विराटनगर–१० की एक २२ वर्षीया युवतीले आफूलाई बन्धक बनाई जबरजस्ती करणी गराउन खोजेको भन्दै आफ्नै आमाविरूद्ध मुद्दा दिएकी थिइन् । जुन मुद्दा अदालतमा चलिरहेको छ। आफ्ना बाबुमार्फत मुद्दा फिर्ता लिन प्रलोभन र धम्की दिने गरेको ती युवतीले बताइन् । जबरजस्ती करणी बाट जोगाएका भाइलाई आमाले नागरिकता पनि नदिने र केही सम्पत्ति नदिने भनेर धम्की दिने गरेको पनि उनले बताइन् ।
पूर्वपतिबाट जन्मेकी छोरी विराटनगरमा भेट्न आएको बेला उनले आफ्ना केटा साथीसँग कोठामा थुनेर जबर जस्ती यौनसम्बन्ध कायम गराउन लगाएकी थिइन्। पछि उनकै भाइले कोठाको ढोका खोलेर उनलाई उद्धार गरेपछि जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएकी थिइन् । जुन मुद्दा जिल्ला अदालतमा चलिरहेको छ । पीडित युवतीले आमासहित सुनसरीको इनरूवा –९ बबियाका अजय साहु र विराटनगर–१० शान्ति टोलका सुरज रायविरूद्ध प्रहरीमा उजुरी दर्ता गराएकी हुन् । जिल्ला प्रहरी कार्यालय मोरङले छानबिनपछि तीनै जनाविरूद्ध जिल्ला अदालत मोरङमा शरिर बन्धक तथा जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरेको थियो । अदालतले कोरोनाको कारण देखाउँदै तीनै जनालाई धरौटीमा छाडेको छ । मुद्दा कमजोर बनाउन केही राजनीतिक दलका अगुवा नेताहरू लागिपरेको पीडित युवतीले बताइन् । उद्घोष दैनिकबाट




