२०८२ कार्तिक १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

कञ्चनपुर, १० कात्तिक । अत्यधिक वर्षाका कारण बालीनालीमा नोक्सानी भएपछि कञ्चनपुरका किसानलाई चाडपर्वका बेला रोएर बस्नुपर्ने अवस्था भएको छ। बैंकबाट ऋण काढेर खेती गरेका किसान मर्कामा परेका छन्।

खेतबारीमा लगाइएको बाली बाढीले तहसनहस पारेपछि कर्जा लिएका किसानलाई बैंकको ब्याज बुझाउन समस्या भएको छ। बैंकबाट कर्जा लिएर किसानले तरकारी, केरा र उखुखेती गरेका थिए।

‘बाढी र डुबानग्रस्त क्षेत्रका साना किसानले लिएको ऋणको सावाँ ब्याज मिनाहा गरिनुपर्छ’, किसान महासंघका सचिवालय सदस्य खेम सुवेदीले भने, ‘सावाँ ऋण ७५ प्रतिशत मिनाहा र ब्याज पूरै मिनाहा हुनुपर्छ।’

बाढीका कारण क्षति व्यहोरेका किसानलाई बाली लगाउन एक प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने उनको माग छ।

किसानको मनोबल उच्च राख्नका लागि फलफूल, उखु, तेलहन र तरकारी बालीको क्षतिपूर्ति यथाशिघ्र उपलब्ध गराउनुपर्ने सुवेदी बताउँछन्।

हिउँदे बाली लगाउन मल, खाद, बीउबिजन र आवश्यक सामग्रीको विशेष प्याकेज ल्याई पूरै अनुदानमा उपलब्ध गराएमात्रै किसानलाई राहत पुग्ने उनको भनाइ छ।

बाली नोक्सानी हुँदा खाद्यान्न संकट निम्तिने किसान बताउँछन्। क्षतिको विवरण संकलन, राहत र क्षतिपूर्ति तथा हिउँदे बालीका लागि किसानलाई आवश्यक सामग्री निःशुल्क तथा अनुदानमा उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ।

धानको समर्थन मूल्य तत्काल तोक्नुपर्ने नेपाल किसान संघ कञ्चनपुरका सभापति भैरवबहादुर ऐरले बताए। बाढीपीडित किसानलाई खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडादेखि दैनिक उपभोग्य वस्तु खरिदका लागि प्याकेजका रूपमा तत्काल राहतको व्यवस्था गरिनुपर्ने उनको माग छ।

बाढीबाट दोधारा चाँदनी, भीमदत्त, शुक्लाफाँटा, बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकाका किसान बढी प्रभावित भएका छन्। रासस

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!