२०८२ कार्तिक १८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर । सुनसरी एकम्बाका मोहमद ऐइताब साढे चार दशकदेखि सुनसरी–मोरङ सिँचाइ आयोजनाको पानीले खेती गर्दै आएका छन् । ऐइताबकै खेतको मोराह खोल्सामा आयोजनाको करिब ६० मिटर लामो एक्वाडक्ट ९पानी बगाउने पक्की पुल० छ । जीर्ण भइसकेको उक्त एक्वाडक्ट टालटुल गरेर आयोजनाले पानी बगाउँदै आएको छ । ‘आयोजनाका संरचना जीर्ण भएर कुनै पनि समय भत्किने स्थितिमा छन्, भत्कियो भने खेत बाँझै हुनेछ,’ उनले भने ।

 

यही नहरको भरमा सुनसरी र मोरङका ५ लाखभन्दा बढी किसानले खेती गरिरहेका छन् । पाँच दशकअघि इँटाले बनाइएका प्रायः सबै संरचना यतिबेला जीर्ण भइसकेका छन् । मूल उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद मेहताका अनुसार प्रतिसेकेन्ड ६० क्युमेक्स पानी बग्ने मुलुककै ठूलो यो आयोजनाको जीर्ण संरचनालाई बर्सेनि करोडौं रुपैयाँ खर्चेर टालटुल गर्दै पानी बगाउनुपर्ने बाध्यता छ ।

 

वर्षायाममा संरचना जोगाउनै गाह्रो हुँदै आएको उनले बताए । आयोजनाका सिनियर डिभिजनल इन्जिनियर यादव बरालका अनुसार हरेक संरचनालाई प्रतिस्थापन नगरिए कुनै पनि समय आयोजना नै ध्वस्त हुने स्थितिमा पुगेको छ । आयोजनाले हाल ६८ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्‍याउँदै आएको छ ।

नेपाल–भारतबीच कोसी सम्झौता भएपछि भारतले चतरा नहर सिँचाइ आयोजनाको प्रारूप तयार गरेर सन् १९६४ मा नहर निर्माण सुरु गरेको थियो । भारतले त्यो बेला कोसी नदीको पूर्वपट्टि चतरामा प्रतिसेकेन्ड ४५ दशमलव ३ क्युमेक्स पानी फ्याल्ने इन्टेक बनाएर ५२ किलोमिटर लामो मूल नहर, ११ शाखा नहर र ३६ माइनर नहर निर्माण गरेर सरकारलाई हस्तान्तरण गरेको थियो ।

हस्तान्तरणपछि सरकारले आयोजनालाई विभिन्न चरणमा विश्व बैंकको १० अर्ब ऋण सहयोगमा विकास गर्दै हाल ६८ हजार क्षेत्रफलमा सिँचाइ पुर्‍याएको हो । उक्त बैंकको सहयोगमा सन् १९९२ देखि १९९७ सम्ममा साविकको इन्टेकभन्दा १ हजार ३ सय मिटर उत्तर प्रतिसेकेन्ड ६० क्युमेक्स पानी बग्ने अर्को भूमिगत साइड इन्टेक निर्माण गरेर शाखा नहरको संख्या २१ पुर्‍याइएको हो । हाल यो आयोजनाबाट सुनसरीको ४० हजार र मोरङको २८ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ हुन्छ ।

 

हालको ५३ किलोमिटर लामो मूल नहरमा ८ सुपर प्यासेज, एक्वाडक्ट ३६, साइफन दुई, कन्ट्रोल क्रस रेगुलेर १६ वटा छन् । ती सबै जीर्ण छन् । इन्जिनियर बरालका अनुसार निर्माण र टालटुलमा वार्षिक झन्डै ५० करोड खर्च हुँदै आएको छ । वार्षिक ५० करोडको १० प्रतिशत मर्मत र ९० प्रतिशत रकम संरचना निर्माणमा खर्च हुन्छ । उनले पनि पुराना संरचनालाई प्रतिस्थापन गर्नुको विकल्प नरहेको बताए ।

सुनसरी खनार पश्चिममा पर्ने एकम्बाको ८० आरडी ९रिडिस डिस्टेन्स० मा पर्ने मोराह खोलाको एक्वाडक्ट संरचना जोगाउन पाँच वर्ष पहिला करिब ५ करोड खर्च भएको थियो । अहिले त्यो एक्वाडक्ट बोरा र त्रिपालले बेरेर पानी चलाइएको छ । आउँदो हिउँदमा त्यसको विकल्प नखोजिए अर्को वर्षदेखि पूर्वी सुनसरीको २० हजार र मोरङको २८ हजार हेक्टर क्षेत्रफल सिँचाइविहीन हुने इन्जिनियर बरालको भनाइ छ ।

खनारपूर्वको ९४ आरडी र १०६ आरडीको एक्वाडक्ट पनि यसपालि मर्मत र टालटुल गरेर पानी बगाइएको छ । २०७२ सालको बाढीले १ सय ३८ आरडीमा पर्ने लोहन्द्रा खोलाको साइफन र पुल नै बगाउँदा मोरङको १२ हजार हेक्टर क्षेत्रफल सिँचाइविहीन भएको थियो । आयोजनाले २९ करोड ९७ लाख ५६ हजारको लागतमा उक्त साइफन र पुल निर्माणलाई निरन्तरता दिएर गत वर्षदेखि मोरङमा सिँचाइ पुनः सुरु गरेको छ ।

सुनसरीको बकलौरीस्थित ५२ आरडीमा स्केप स्टक्चर नै संकटमा परेपछि आयोजनाले करिब अढाई करोड खर्चेर उक्त स्ट्रक्चरको बचाउ गरेको छ । सुनसरी खोलाको ४८ आरडीमा साइफन राकोडकलाई बचाउन आयोजनाले अघिल्लो वर्ष २ करोड ६६ लाख खर्च गरेको थियो । नहरको क्यानल र खोलाको सतह बराबरी भएपछि साइफन संकटमा परेको थियो । आयोजनाका सबै संरचनाको आयु सकिएकाले मर्मत गरेर पानी सञ्चालन गरिँदै छ ।

सिँचाइ विभागका महानिर्देशक सुशील आचार्यका अनुसार संरचनाको सूक्ष्म अध्ययन भइरहेको छ । उनले सबै संरचनाको प्रतिस्थापनको विकल्प नभएको बताए । ‘सबै संरचना नयाँ बनाउन ठूलो बजेट लाग्छ, त्यसको अहिले सम्भावना नै छैन, तत्काल मर्मतकै भरमा आयोजनालाई निरन्तरता दिनुको विकल्प छैन,’ आचार्यले भने । उनले आयोजनाको मुहानमा पनि समस्या भएको उल्लेख गर्दै त्यसका लागि दाताको खोजी भइरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!