२०८२ कार्तिक १७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर । सामुदायिक विद्यालय सुधारमा शिक्षक, सरोकारवाला निकायका साथै अभिभावकको पनि महत्त्वपूर्ण भूमिका हुने सरोकारवालाहरूले जनाएका छन् ।

शुक्रबार विराटनगरको एक होटलमा आयोजित ‘सामुदायिक विद्यालय सुधार र रूपान्तरणमा सरोकारवालाको भूमिका’ विषयक गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।

सुनसरीको बर्जु गाउँपालिकाले आयोजना गरेको गोष्ठीमा बोल्दै कार्यक्रमका सहजकर्तासमेत रहेका पोखरिया माविका प्रधानाध्यापक खेमराज भट्टराईले अभिभावकको सहयोग विद्यालय सुधारमा महत्त्वपूर्ण हुने बताउनुभयो।

‘अभिभावकले आफ्ना छोरा–छोरीको अध्ययनको विषयमा निरन्तर चासो लिइरनु पर्छ। अर्को कुरा अभिभावकको आर्थिक सहयोगले पनि विद्यालय सुधार्न उल्लेखनीय भूमिका खेलेको हुन्छ,’ उहाँले भने, ‘हुन त विद्यालयलाई अभिभावकले आर्थिक सहयोग गर्ने कि नगर्ने भन्ने विषय अहिले मुद्दाको विषय नै बनेको छ। तर पनि उहाँहरू सहयोगले विद्यालय सुधारमा अग्रणी भूमिका खेल्छ।’

त्यसबाहेक तीनै तहका सरकारले पनि सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर सुधार गर्ने विषयमा चासो लिनुपर्ने उहाँको सुझाव छ।

यस्तै, शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले गुणस्तरीय शिक्षा दिनका लागि पनि विद्यालय सुधारमा विद्यालय व्यवस्थापन समितिदेखि लिएर शिक्षक, स्थानीय सरकार, अभिभावक र विद्यार्थी स्वयम् लागिपर्नुपर्ने बताउनुभयो। राजनीतिक रूपमा हस्तक्षेप नभए वा विद्यालयभित्र राजनीति नभएमा पनि विद्यालय सुधार हुने उहाँको भनाइ छ।

त्यस्तै, शैक्षिक गुणस्तर परीक्षण केन्द्र काठमाडौंका शाखा अधिकृत देवीराम आचार्यले सामुदायिक विद्यालय सुधारमा सामाजिक संस्थाहरूको भूमिका पनि महत्त्वकांक्षी हुने बताउनुभयो। उहाँले पहिले सामुदायिक विद्यालयमा सुधार नआउँदा निजी विद्यालयहरूले एकछत्र राज गरेको बताउँदै अहिले सामुदायिक विद्यालयमा आएको आमुल परिवर्तनका कारण त्यस्तो अवस्था नरहेको सुनाउनुभयो।

कार्यक्रममा बोल्दै बर्जु गाउँपालिका प्रमुख जिबच्छकुमार रायले सामदायिक विद्यालय सुधार र रूपान्तरणको अन्तिम लक्ष्य भनेकै गुणस्तरीय शिक्षा दिने भएको बताउँदै यसका लागि पालिकाले यस्ता प्रकृतिका अन्तरक्रिया कार्यक्रम आयोजना गर्न थालेको बताउनुभयो।

‘गुणस्तीय शिक्षा आफैंमा बहुआयामिक कुरा हो,’ उनले भने, ‘वैज्ञानिक, व्यवहारिक, आध्यात्मिक दृष्टिकोणले फरक अर्थ गुणस्तरीय शिक्षामा भए पनि यो कार्यक्रमको माध्यमबाट शिक्षामा न्युनतम गुणस्तर ल्याउनचाहिँ कोशेढुंगा साबित हुने छ।’

गाउँपालिकाका शिक्षा शाखा अधिकृत बाबुराम कार्कीले विद्यालय सुधारका लागि सुनसरी जिल्लामै पहिलोपटक यस्तो प्रकृतिको कार्यक्रम आयोजना गरिएको दाबी गर्दै यस कार्यक्रमले विद्यालय सुधारमा थप सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो।

उहाँका अनुसार बर्जु गाउँपालिकामा हाल २५ वटा सामुदायिक र दुई वटा धार्मिक विद्यालयहरू छन्। ती विद्यालयमा आठ हजार चार सय ४० विद्यार्थी अध्ययनरत रहेको बताउँदै उहाँले पहिलेको तुलनामा दलित विद्यार्थीहरूको संख्या पनि बढेको बताउनुभयो।

बर्जुका सम्पूर्ण शिक्षकहरूको प्रतिनिधित्व गर्दै शिक्षक प्रल्हाद कामतले पालिकाभित्रका विद्यालयमा विद्यालय सुधारका लागि अभियान नै थालिएको बताए। पालिकाका शिक्षा शाखाका प्राविधिक सहायक हेमराज दाहालले पालिकाभित्रका विद्यालयहरूलाई आमुल परिवर्तन गर्नका लागि यस कार्यक्रमको थालनी गरेको उल्लेख गर्नुभयो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष नितु चौधरी, प्रमुख प्रशासकीय अधिकृत प्रमोद चौधरी, शिक्षा शाखाका प्राविधिक सहायक हेमराज दाहाल र ६ वटै वडाका वडाध्यक्षहरूको सहभागिता थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!