२०८१ चैत्र ४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

टीकापुर, ४ मंसिर । कैलालीको जानकी गाउँपालिकाका युवा च्याउखेतीमा आकर्षित भएका छन् । यहाँका यवाले व्यवसायिक रुपमा च्याउखेती गरेर अहिले मनग्य आम्दानीसमेत लिन थालेका छन् ।

रु छ हजार लगानीबाट च्याउखेती शुरुआत गरेका जानकी–४ का श्रीराम कठरियाले अहिले रु दुई लाखको लगानी गरेका छन् । उनले कन्य च्याउ र गोब्रे च्याउ गरी दुईथरिका च्याउ उत्पादन गरिरहेका छन् । आफू अहिले च्याउखेतीमा सन्तुष्ट भएकाे बताउँदै उनले भने, ‘दुई जातका च्याउ उत्पादन गर्छु, बजारको चिन्ता छैन, खपत सहजै भइरहेको छ ।’

अन्य कामभन्दा कम लगानी र घरमै बसेर गर्न सकिने भएकाले च्याउखेती रोजेको उनको भनाइ छ । “सुरुमा थोरै लागनीबाट शुरु गर्न सकिन्छ, तरकारी भएकाले बिक्री भइहाल्छ । घरपरिवार मिलेर गर्न सकिन्छ, यसले कामदार व्यवस्थापनमा समेत सहयोग पुगेको छ । च्याउसँगै अन्य काम पनि गर्न सकिन्छ,” उनले भने ।

जानकी–५ का एञ्जिल चौधरीले पनि गत वर्षदेखि च्याउखेती सुरुवात गरेका छन् । उनले रानी जमरा कुलरिया सिँचाइ आयोजना कैलालीको ५० प्रतिशत अनुदान सहयोगमा च्याउखेती गरेका छन् ।

“आधा लगानी सिँचाइ आयोजनाले गरिदिएपछि म थप हौसिएको छु । अहिले ६०० पोका च्याउ उत्पादन गरिरहेको छु मेरो बारीमा उत्पादन भएको च्याउ टीकापुर, लम्की, जोशीपुर, भजनी र धनगढीसम्म जाने गरेको छ,” उनले भने ।

उनको व्यवसायमा पनि पाँच जना घरका सदस्य आफैँले काम गरिरहेका छन् । बजारीकरणका लागि दुई जना कामदारसमेत राखेका छन् ।

गाउँपालिकाले पनि युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले विभिन्न सीपमूलक तालिम सञ्चालन गर्नुका साथै कृषिमा अनुदानका कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । जानकी गाउँपालिका अध्यक्ष प्रदीपकुमार चौधरी युवालाई लक्ष्य गरेर कृषिकर्म गर्ने युवालाई गाउँपालिकाले सघाइरहेको जानकारी दिए ।

कृषक अगुवा सन्दीप चौधरी पछिल्लो समय युवाहरु कामको खोजीमा विदेशिने क्रम बढेकाले स्थानीय सरकारले स्थानीयस्तरमा युवालाई स्वरोजगार बनाउने खालका कार्यक्रम थप सञ्चालन गर्नुपर्ने सुझाव दिन्छन् । उनले भने, “अबको भविष्य भनेको कृषि नै हो, कृषिलाई प्राथमिकतामा राखेर लगानी गर्नुपर्छ । अनुदानमात्र नभई बजारीकरणमा समेत सहयोग गर्न आवश्यक छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!