२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

बाँके, १६ मंसिर । बाँकेको खजुरास्थित कपास विकास समितिका पूर्वकर्मचारी तथा खजुरा गाउँपालिका नेकपाको कार्यालय सदस्य गेहेन्द्र धिताल अधिकांश समय खेतबारीमा बिताउँछन् ।

सोह्र वर्षअघि कपास विकास समितिबाट राजीनामा कृषि र राजनीतिमा लागेका उनी खेतबारीमा दिनुपर्ने केही समय बचाएर मात्र पार्टीका बैठक तथा कार्यक्रममा सहभागी हुन जान्छन् ।
जागिर छोडेर व्यावसायिक तरकारी खेती थालेका धिताललाई यो तरकारी खेतीबाट निकै फापेको छ । धिताल परिवारले वार्षिक खर्च कटाएर पाँच लाख रुपियाँभन्दा बढी आम्दानी गर्दै आएको छ ।
अहिले उनले बर्सेनि करिब अढाई बिगाह जग्गामा आधुनिक पद्धतिबाट तरकारी तथा फलफूल खेती गर्दै आएका छन् ।

तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनले यसलाई नै पेशा बनाएका छन् । सुरुमा छ कठ्ठा जग्गाबाट खेती थालेका धितालले अहिले अढाई बिगाहमा तरकारी र फलफूल खेती गरेका छन् ।

उनको बारीमा अहिले केरा फलेका छन् । टमाटर र आलु खेती गरिएको छ । ‘सिजन अनुसारको खेती गर्दैआएको छु,’ धितालले भने, ‘खेतबारीमा रमाउँदा आनन्द लाग्न थालेको छ ।’ खेतको कामसँगै बजारीकरणमा समेत धिताल आफैँ खटिँदै आएका छन् ।

उनले हाल मल्चिङ विधिबाट एक बिघा क्षेत्रफलमा टमाटर खेती गरृका छन् । मल्चिङ पद्धतिबाट खेती गर्दा सस्तो हुने र उत्पादन पनि बढी हुने धितालको अनुभव छ । मल्चिङ विधिबाट खेती गर्दा प्लाष्टिकले माटो छोप्ने भएकाले ठेक्रा पनि नचाहिने हुन्छ ।

यसबाट माटो खुकुलो हुने, पानीको चिस्यान लामो समयसम्म हुने र झारपात पनि कम हुने धितालले बताए । एक पटक मल्चिङबाट खेती गरेमा दुई वर्षसम्म हुन्छ ।

पूर्णरुपमा अर्गानिक तरिकाले खेती गर्दै आएका धिताल भन्छन्, ‘युरिया मल प्रयोग गर्न छोडेको १० वर्ष भयो । रासायनिक मल प्रयोग नगरेपछि तरकारीमा कीरा र अन्य रोग पनि कम लाग्दो रहेछ ।’

तरकारीसँगै सयपत्री फूल लगाएपछि रोग कीराको डर कम हुने धितालको अनुभव छ । कृषि सम्बन्धी तालिममा सहभागी नभए पनि कृषिसम्बन्धी पत्रपत्रिका र बुलेटिनको अध्ययन गरेर नयाँ नयाँ प्रविधि सिक्दैआएको उनको भनाइ छ ।

धितालले हालसम्म गाउँपालिकाबाट सामान्य सहयोगबाहेक अनुदान पाएका छैनन् । सिँचाइ सुविधाका लागि उनले आकाशको पानी जम्ने पोखरी निर्माण गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!