
विराटनगर, २२ मंसिर । आफ्नै अनुयायी महिला बलात्कार गरेकाे आरोप लागेका सुनसरीको चतरास्थित रमानन्द शक्तिपीठका प्रमुख सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले सफाइ पाएका छन् ।सुनसरी जिल्ला अदालतले सोमबार अभियोग पुष्टि नभएपछि सिद्धबाबालाइ सफाइ दिइएको हो ।
सुनसरी जिल्ला अदालतका एक नम्बर इजलासका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले एकवर्षदेखि पुर्पक्षका लागि कारागारमा रहेका सिद्धबाबालाई अभियोग पुष्टि नभएको भन्दै सफाइ दिएको हो ।
कोइरालाले नेपाल सरकारले लिएको अभियोग दावीबमोजिम प्रतिवादीलाई जवरजस्ती करणीको कसुरमा सजाय हुनुपर्ने भन्ने अभियोग पुष्टि नभएकाले आरोपित सफाइ हुने फैसला गरेका हुन् ।
सोमबार फैसला भएसँगै क्षेत्रीय कारागार झुम्कालाई रिहाइका लागि पत्र पठाएको सुनसरी जिल्ला अदालतका श्रेस्तेदार नरेन्द्रकेसरी पोखरेलले जानकारी दिए ।
सिद्धबाबाविरुद्ध पीडित महिलाले २०७६ साल पुस १० गते जबरजस्ती करणी गरेको भन्दै मुद्दा दायर गरेकी थिइन् । सुरुमा जिल्ला अदालत सुनसरीले धरौटीमा रिहा गर्न दिएको आदेश बदर गर्दै उच्च अदालत विराटनगरले पुर्पक्षका लागि कारागारमा राख्नुपर्ने आदेश दिएको थियो ।
उच्च अदालत विराटनगरका न्यायाधीशद्वय प्रेमप्रसाद कार्की र तिलप्रसाद श्रेष्ठको संयुक्त इजालसले गिरीलाई पुर्पक्षमा राख्न आदेश दिएको थियो ।
२०७६ सालको असोजमा आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत सुनसरीमा पीडित महिलाले मुद्दा दर्ता गरेकी थिइन् । त्यस मुद्दामा जिल्ला अदालत सुनसरीका तत्कालीन मुख्य न्यायाधीश राधकृष्ण उप्रेतीले तीन लाख रुपियाँ धरौटीमा रिहा गर्ने आदेश दिएका थिए ।
जिल्ला अदालतको आदेशविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीले उच्च अदालत विराटनगरमा निवेदन दिएको थियो । जिल्लाको आदेश चित्त नबुझेको र प्रतिवादीलाई थुनामा राखेर कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्ने भन्दै उच्च अदालत विराटनगरमा निवेदन दर्ता गरिएको थियो ।