
विराटनगर, १९ पुस । कुखुराको शारीरिक वृद्धि र पोषणबाट हुने रोग नियन्त्रणमा दानाको महत्वपूर्ण स्थान हुन्छ । त्यसैले कुखुरालाई प्रयोग गर्ने दाना ताजा र गुणस्तरीय हुनु पर्दछ ।
ब्रोइलर कुखुरापालनमा ६० प्रतिशत खर्च दानामा हुने भएकाले दानाको भण्डारण र उपयोगमा किसानले ध्यान पुर्याउनु पर्दछ, साथै आफ्ना कुखुरालाई प्रयोग गरिरहेको दाना ठिक छ कि छैन, त्यतापनी ध्यान दिनु पर्छ ।
दानाको उपयोग, भण्डारण ठिक किसिमले गर्न नसक्दा त्यसबाट भइरहेको अप्रत्यक्ष क्षतिलाई किसानहरुले उतिसारो ध्यान दिएका हुँदैनन्। तर, त्यसले क्षति गरिरहेको हुन्छ, त्यसैले आफ्ना कुखुरालाई प्रयोग गरिरहेको दानाको गुणस्तर, त्यसको विश्वनियता र आफूले भण्डारण र प्रयोग गर्ने तरिकामा किसानहरु धेरै सतर्क हुनु पर्दछ। दाना विश्वसनिय र भरपर्दो कम्पनीको खरिद गर्नु पर्दछ।
डिलरले भरपर्दो र सुरक्षित किसिमले दाना राखेको छ कि छैन, त्यसको विचार गर्नु पर्दछ। धेरै पुरानो दानाले कुखुरामा समस्या हुने हुँदा, भरसक दाना उत्पादन मिति पनि थाहा पाउनु जरुरी हुन्छ। दाना भण्डारण चिसो भुइँमा गर्नु हुँदैन र भण्डारण गर्ने ठाउँमा मुसा, चरा तथा घर पालुवा पक्षीहरु पुग्नु हुँदैन । भण्डारण गर्ने ठाउँमा पानी नचुहिने, पानीको बाछिटा नपर्ने गरि मचान वा खाटमा राख्नु पर्छ, भण्डारण गर्ने ठाउँमा हावाको सञ्चार हुनु पर्दछ । भण्डारण गर्ने ठाउँमा धेरै गर्मी हुनु हुँदैन ।
दाना भण्डारण गर्ने ठाउँ खोरसँग सटाएर वा खोरभित्र राख्नु हुँदैन । दानालाई भित्तामा सटाएर राख्नु हुँदैन। जहिलेपनी कुखुरालाई ताजा दाना दिनु पर्छ। त्यसैले भण्डारण गर्दा नयाँ र पुरानो दाना छुट्याएर राख्नु पर्छ। टक्सिन भएको, ढुसी परेको, डल्ला भएको र तातो दाना कुखुरालाई खुवाउनु हुँदैन।