
पोखरा, १२ माघ । भारतले नेपाललाइ अनुदानमा उपलब्ध गराएको खोप आइतबार साँझ पोखरा आइपुगेकाे छ । कोरोनाविरुद्धको ‘कोभिसिल्ड’ खोप आइपुगेसँगै गण्डकी प्रदेशमा पहिलो चरणमा १७ हजार ३९६ अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मीलगायतलाई कोरोनाविरुद्धको खोप दिइने भएको छ ।
सो खोप साेमबार प्रदेशका अन्य जिल्लामा पुर्याइने र जिल्लाबाट पनि लगाउन शुरु गरिने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । पोखरा ल्याइएको खोप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको ‘कोल्ड स्टोर’मा राखिएको छ । चिकित्सकको प्रत्यक्ष निगरानीमा जिल्लास्थित सरकारी अस्पतालमा खोप लगाइने निर्देशनालयले जनाएको छ ।
गण्डकी प्रदेशको राजधानी शहर पोखरामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल अस्पताल र प्रदेश सरकारको सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा खोप दिइने छ । खोपका लागि जिल्लामा १० जना प्रशिक्षकलाई तालीम दिइएको निर्देशक शर्माले बताए ।
सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोप दिएपछि दोस्रो चरणमा सर्वसाधारणलाई दिने योजना बनाएको छ । अहिले गण्डकी प्रदेशमा ४० हजार डोज खोप आएको बताइन्छ । कोरोना खोप एक व्यक्तिले दुई पटक लगाउनुपर्दछ । एकपटक खोप लगाएपछि एक महिनाको अन्तरमा अर्को डोज दिइने निर्देशनालयले जनाएको छ । १० प्रतिशत हाराहारीमा खोप खेर जाने अनुमान गरी हाललाई सो १७ हजार हाराहारीमा खोप लगाउने व्यक्ति छानिएको हो ।