
एजेन्सी, १४ माघ । म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा वेस्ट ब्रुमलाई ५-० गोल अन्तरले पराजित गर्दै सिटी शीर्ष स्थानमा उक्लिएको हो ।
सिटीले यसअघि शीर्ष स्थानमा रहेकाे म्यानचेस्टर युनाइटेडलाइ १ अंकले पछि पार्दै पहिलाे स्थान कब्जा गरेकाे हाे । सिटीले १९ खेलमा ४१ अंक जोडेको छ भने समान खेल खेलेकाे युनाइटेड ४० अंकका साथ दाेस्रोमा छ । पराजित वेस्ट ब्रुम भने ११ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ ।
गए राति वेस्ट ब्रुमको मैदानमा सिटीलाई जित दिलाउन इल्के गुन्डोगानले दुई गोल गरे भने जोआ कान्सेलो, रियाद महरेज र रहिम स्ट्रर्लिङले एक एक गोल थपे ।
खेलको छैटौं मिनेटमा गुन्डोगानको गोलबाट सिटीले अग्रता बनाएको थियो । खेलको २० औं मिनेटमा जोआले गोल गर्दा सिटी २-० ले अघि रह्यो । ३० औं मिनेटमा गुन्डोगानले व्यक्तिगत दोस्रो गोल गर्दा सिटीको अग्रता ३-० को बन्यो । पहिलो हाफको इन्जुरी समयमा महरेजले गोल गर्दै टोलीलाई ४-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ५७ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै सिटीलाई ५-० को जित दिलाए ।